ग्लोबल आईएमईको नाफामा सामान्य सुधार, रिकभरीले वित्तीय विवरणमा चमक, लाभांश क्षमता १४%

840
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १.०९ प्रतिशतले बढाएको हो ।
आव २०८०/८१ मा ६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो। आम्दानी बढेपनि नाफा उल्लेख्य रुपमा बढाउन नसक्नुको कारण हो, सम्भावित नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था अर्थात् प्रोभिजनिङमा वृद्धि । प्रोभिजन बढ्दा आम्दानी बढेपनि बैंकको नाफा उल्लेख्य बढ्न सकेन । बैंकको खुद फि तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानी उल्लेख्य बढे पनि खुद ब्याज आम्दानी नै घटेको छ ।

बैंकले आव २०८१/८२ मा १६ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद फि एन्ड कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख रुपैयाँ रहेको छ । यता ४ अर्ब ३० करोड ५४ लाख रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोड ६३ लाख रहेको बैंकको खुद ब्याज आम्दानी करिब ०.८५ प्रतिशतले घटेको हो । बैंकले अघिल्लो आवमा खुद फि तथा कमिसन आम्दानी र नोक्सानी व्यवस्था क्रमशः २ अर्ब ६८ करोड २३ लाख र ३ अर्ब ६१ करोड ६६ लाख थियो ।

करिब १ अर्ब ३४ करोड नेट ट्रेडिङ इन्कम र अदर अपरेरिङ इन्कमसहित बैंकले २०८१/८२ मा १६ अर्ब ९७ करोड १० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । गत आव यस्तो आम्दानी १७ अर्ब ३ करोड ७३ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन खर्चमा सामान्य वृद्धि भएको छ भने गैरसञ्चालन खर्च घटेको छ । यो खर्च राइट अफ (घाटा बुक) गरिएको कर्जा हो । अघिल्लो आवमा यस्तो खर्च १५ करोड ८९ लाख रहेकोमा गत आवमा १ करोड ६३ लाख रुपैयाँमात्र छ। जसका कारण बैंकको सञ्चालन नाफा सञ्चालन नाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ६ लाखमा झर्दा पनि नाफा भने अघिल्लो वर्षको तुलनामा सामान्य बढेको हो ।

नाफा बढ्दा पनि बैंकले गत आवमा बोनस सेयर मार्फत पुँजी बढाउँदा प्रतिसेयर आम्दानी घटेको छ । २०८१ असार मसान्तसम्म १६ रुपैयाँ ९९ पैसा रहेको ईपीएस २०८२ असारमा १६ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यता बक्यौता ब्याज उठाएर १ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ रकम नियामकीय जगेडाबाट फिर्ता गरेको बैंकले गैरबैंकिङ सम्पत्ति बुक गरेर ३ करोड ५२ लाख रुपैयाँ सञ्चित नाफामा फिर्ता भएको छ । यस्तै डिफर्ड ट्याक्स रिकग्नाइजको ३० करोड ८२ लाख नियामकीय जगेडामा सारेको छ ।

नियामकीय जगेडाबाट सञ्चित नाफामा खुद १ अर्ब १२ करोड सारेको छ । यसरी बैंकले गरेको ६ अर्ब २० करोड लाखरुपैयाँमध्ये ५ अर्ब ३५ करोड ९७ लाख रुपैयाँमात्र लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यद्यपि अघिल्लो आवसम्म रहेको सञ्चित नाफासहित ४ अर्ब ३७ करोड ९३ लाख रूपैयाँ वितरणयोग्य नाफा देखिन्छ । यसबाट चुक्तापुँजी ३८ अर्ब ११ करोड ५९ लाख रहेको बैंकले १४.११ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ ।

२०८२ असार मसान्तको तथ्यअनुसार ग्लोबल आईएमईको निष्क्रिय कर्जा बढेर ४.८७ प्रतिशत तथा खुद निष्क्रय कर्जा १.२३ प्रतिशत छ । एक वर्षको अवधिमा बैंकको बेसरेट ८.०९ प्रतिशतबाट घटेर ५.७६ प्रतिशत कायम भएको छ भने ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट ३.६३ प्रतिशत कायम भएको छ ।

यसैगरी प्राथमिक पुँजी अनुपात १०.३२ प्रतिशतबाट बढेर १०.६६ प्रतिशत कामय हुँदा नेटवर्थ प्रतिसेयर १७७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।

बैंकले ५ खर्ब ५० अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप ६३ अर्बले बढाउँदा कर्जा ४२ अर्बले विस्तार गरेको छ ।