
शोधनान्तर खाता अन्तर्गत मुख्यतया चार वटा खाता हुन्छन् । १. चालु खाता (करेन्ट एकाउन्ट) २. पुँजीगत खाता (क्यापिटल एकाउन्ट) ३. विविध खाता र ४. विनिमय सञ्चिति खाता (फरेन एक्स्चेन्ज एकाउन्ट) । फेरि चालु खाता अन्तर्गत चार प्रकारका खाताहरु (वस्तु व्यापार खाता, सेवा व्यापार खाता, उत्पादन कारकबाट प्राप्त आम्दानी खाता र एकतर्फी स्थान्तरण खाता) हुन्छन् । त्यस्तै पुँजीगत खाता अन्तर्गत तीन प्रकारका खाता ( वित्तीय खाता, प्रत्यक्ष वैदेशिक लगानी खाता, पोर्टफोलियो खाता र अन्य खाता) हुन्छन् ।
चालु तथा पुँजीगत खाता परिवर्त्यता (कन्भर्टिबिलिटी) भन्नाले मुद्रा अथवा वित्तीय सम्पत्ति सटही गर्ने स्वतन्त्रतालाई जनाउँछ । जसअन्तर्गत चालु खाता परिवर्त्यता गैर पुँजीगत वस्तु वा सेवाको आयात वा निर्यातको भुक्तानी गर्न मुद्रा सटही गर्न पाउने स्वतन्त्रता हो । यसैगरी पुँजीगत खाता परिवर्त्यता पुँजीगत वस्तु वा सेवाको आयात वा निर्यातको भुक्तानी गर्न मुद्रा सटही गर्न पाउने स्वतन्त्रता हो ।
नेपालमा आर्थिक उदारीकरणको नीति पश्चात सन् १९९२ मा चालु खाता परिवर्त्यता आंशिकरुपमा खुला गरिएको थियो भने फेब्रुअरी १९९३ देखी चालु खाता पूर्णरुपमा खुला गरिएको छ । पुँजीगत खाता परिवर्त्यता भने पूर्णतया खुला नरहेकाले बेला बेला पुँजीगत खाता परिवर्त्यता सम्बन्धमा आवाज उठ्ने गरेको छ । यस सन्दर्भमा यस लेखले पुँजीगत खाता पूर्णतया खुला गर्ने आवश्यकता, जोखिम, सर्त तथा गन्तव्य बारे चर्चा गर्ने प्रयास गरेको छ ।
पुँजीगत खाता परिवर्त्यता
पुँजीगत खाता परिवर्त्यता भन्नाले स्वदेशी र विदेशी बजारमा वित्तीय सम्पत्ति खरिद बिक्री गर्न सक्ने स्वतन्त्रतालाई जनाउँछ । अर्को शब्दमा पुँजीगत वस्तु खरिद बिक्री गर्न तोकिएको बजार दरमा स्वदेशी मुद्रा सटही गर्न पाउनु नै पुँजीगत खाता परिवर्त्यता हो । यो वित्तीय पुँजी जस्तै मुद्रा, डिपोजिट, सेयर, ऋणपत्र, प्रत्यक्ष वैदेशिक लगानी आदिको स्वतन्त्र प्रवाहसँग सम्बन्धित रहेको हुन्छ ।
नेपालमा पुँजीगत खाता आंशिक परिवर्त्यता मात्र छ । उदाहरणका लागि नेपालमा अधिकांस क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको छ, वैदेशिक ऋण आप्रवाहलाई नियमन गरिएको छ, विदेशी मुद्रामा आय आर्जन गर्नेका लागि विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था रहेको छ, सरकारको अनुमति पश्चात् अन्तर्राष्ट्रिय वित्तीय बजारबाट ऋण लिन खुला गरिएको छ । अर्कातर्फ छोटो समयको पुँजीगत आप्रवाह, रियल स्टेट लगानी, सरकारी ऋणपत्रमा लगानी तथा पुँजी बजारमा पोर्टफोलियो लगानी रोक्का गरिएको छ । साथै बाह्य पुँजी प्रवाहलाई पूर्णतया रोकिएको छ ।
पुँजीगत खाता परिवर्त्यताको लाभ
पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला हुँदा अर्थतन्त्रलाई विभिन्न फाइदा हुन्छन् । यसले अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रणालीको कार्यक्षमता अभिवृद्धि गर्ने, आन्तरिक वित्तीय बजारको कार्य दक्षता बढाउने, साधन स्रोतहरुको विश्वव्यापीरुपमा चलायमान (मध्यस्तता अभिवृद्धि) गर्ने, साधन स्रोतहरुको कुशल विनयोजन गर्ने, पुँजीगत साधन स्रोतहरुको लागत घटाउने, प्रतिस्पर्धा बढाउने, उत्पादकत्व तथा नवीनतामा अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय वित्तीय बजारमा नागरिकहरुको पहुँच बढाउने, नागरिकहरुलाई अन्तर्राष्ट्रियरुपमा विविधिकरण गरिएको सम्पत्ति राख्ने सुविधा उपलब्ध गराउने, जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने तथा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरी अर्थतन्त्र सवलीकरण गर्न सहयोग गर्दछ ।
यी फाइदाहरु विश्लेषण गर्दा नेपालले तत्काल पुँजीगत खाता परिवर्त्यतातर्फ कदम चाल्नुपर्ने देखिन्छ । तर अर्कातर्फ पुँजीगत खाता परिवर्त्यता खुला गर्दा आन्तरिक बचतमा पलायन हुने, वास्तविक विनिमयदर वृद्धि हुने, साधन स्रोतहरु व्यापारिक क्षेत्रबाट गैर व्यापारिक क्षेत्रमा स्थानान्तरण हुने, पुँजी पलायन हुने, अर्थतन्त्र अस्थिर बनाउने , वित्तीय बबल सिर्जना गर्ने, छोटो अवधिमा पुँजी प्रवाह निकै अस्थिर भई चेन रियाक्सन सिर्जना गर्ने तथा समाजिक र राजनीतिक अस्थिरता ल्याउने जोखिम रहन्छ ।
तसर्थ, पुँजीगत खाता परिवर्त्यता चालु खाता परिवर्त्यता जस्तो सजिलो विषय होइन । यो निकै जोखिमयुक्त तथा जटिल विषय भएकाले पर्याप्त अध्ययन तथा विश्लेषण पश्चात् मात्र पूर्ण पुँजीगत खाता परिवर्त्यतातर्फ जानु पर्ने हुन्छ ।
पुँजीगत खाता परिवर्त्यताका पूर्वसर्त तथा जोखिमहरु
पुँजीगत खाता पूर्ण परिवर्त्यताका विभिन्न सर्तहरु हुन्छन् । यी पूर्वसर्तहरु पुरा नगरी पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला गर्दा दीगोपन नहुने भएकाले यस्तो निर्णयबाट पछि हटेको विभिन्न उदाहरणहरु पनि छन् ।
क. सानो बजेट घाटाः बजेट घाटा ठूलो भएमा चालु खाता घाटा बढेर जाने, विनिमयदर अस्थिर हुने र पुँजी पलायन हुने जोखिम रहन्छ । नेपालको विगत १० वर्षको औसत बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा करिब ६.८ प्रतिशत रहेको र तत्काल घट्ने सम्भावना समेत नरहेको सन्दर्भमा बजेट घाटा कम नगरी पुँजीगत खाता पूर्ण परिवर्त्यतातर्फ जाने बाटो सहज देखिँदैन ।
ख. सानो करको दरः उच्च करको दर भएको अवस्थामा वैदेशिक लगानीमा कमी आउने र पुँजी पलायन बढ्ने भएकाले संस्थाको आयकर, वित्तीय साधन स्रोतमा लाग्ने आयकर तथा ब्याजदर समेतलाई विचार गरेर पुँजीगत खाता पूर्ण परिवर्त्यतातर्फ जनुपर्ने हुन्छ ।
ग. सानो मुद्रास्फीति दरः उच्च दरमा मुद्रास्फीति भएमा पुँजी पलायन अथवा निर्यातमा कमी आउँछ । नेपालको विगत १० वर्षको औसत मुद्रास्फीति दर करिब ५.८ प्रतिशत छ । नेपालमा मुद्रास्फीति दर आफैंमा उच्च नरहे तापनि निकै अस्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजार तथा भारतमा हुने मूल्यवृद्धिले नेपालमा समेत तत्काल मूल्यवृद्धि हुने भएको साथै आपूर्ति अवरोधबाट हुने मुद्रास्फीति व्यवस्थापन गर्न निकै कठिन हुने भएकाले नेपालको मुद्रास्फीति निकै अस्थिर रहेको देखिन्छ ।
घ. व्यापार सन्तुलनमा दीगोपनः उच्च व्यापार घाटाले चालु खाता घाटा बढेर जाने तथा पुँजी पलायन गराउने भएकाले व्यापार सन्तुलनमा दीगोपन कायम गरेर मात्र पुँजीगत खाता पूर्ण परिवर्त्यतातर्फ जानुपर्छ । नेपालको विगत १० वर्षको औसत व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा करिब ३० प्रतिशत रहेको सन्दर्भमा तत्काल पुँजीगत खाता पूर्ण परिवर्त्यता गर्न सम्भव देखिँदैन ।
ङ. परिवर्तशील विनिमय दरः स्थिर वा पेग विनिमय दरले पुँजी पलायन गराउने तथा मौद्रिक नीतिको स्वतन्त्रता समेत कमजोर गर्ने भएकाले पुँजीगत खाता पूर्ण परिवर्त्यताको अवरोधको रुपमा काम गर्छ । नेपालमा हाल स्थिर विनिमय दर अन्तर्गतको पेग विनिमय दर कायम रहेको र तत्काल परिर्वतनशिल विनिमयदर प्रणाली लागु गर्न सम्भव नरहेकाले पुँजीगत खाता पूर्ण परिवर्त्यतातर्फ काम गर्न सम्भव देखिँदैन ।
च. वित्तीय क्षेत्र सुधारः वित्तीय क्षेत्रमा व्यापक सुधार नगरी पुँजीगत खाता पूर्ण खुला गरेमा दीगोपनमा कमी हुन जान्छ । सानो ब्याज दर, सानो ब्याजदर फरक (स्प्रेड), न्युन निष्क्रिय कर्जा तथा गैर बैंकिङ्ग सम्पत्ति, उच्चस्तरको जोखिम व्यवस्थापन, विवेकशील नियमन तथा सुपरीवेक्षणमा व्यापक सुधार गरेर मात्र पुँजीगत खाता परिवर्त्यता पूर्ण खुला गर्नुपर्छ ।

नेपालमा हाल जोखिम व्यवस्थापन, विवेकशील नियमन तथा सुपरीवेक्षणमा व्यापक सुधार भएता पनि ब्याज दरको अस्थिरता, उच्च स्प्रेड दर, बढदो निष्क्रिय कर्जा तथा गैर बैंकिङ्ग सम्पत्तिले वित्तीय अस्थिरता बढाएकोले तत्काल पुँजीगत खाता परिवर्त्यता पूर्ण खुला गर्न सकिने अवस्था देखिँदैन ।
यी सर्तहरु सँगै मौद्रिक त्रिलेमा( मोनिटरी ट्राइलेमा) समेतलाई विचार गरेर पुँजीगत खाता परिवर्त्यता पूर्ण खुला गर्नुपर्ने हुन्छ । मौद्रिक त्रिलेमाको तिन कोणमा पुँजी प्रवाह, स्थिर विनिमय दर र स्वतन्त्र मौद्रिक नीति रहेका हुन्छन् । कुनै पनि मुलुकले यी ३ मध्य कुनै दुई मात्र प्राप्त गर्न सक्दछ । स्थिर विनिमय दर र स्वतन्त्र पुँजी प्रवाह भएको मुलुकले स्वतन्त्र मौद्रिक नीति कायम राख्न सक्दैन ।
अबको गन्तव्य
नेपालमा पुँजीगत खाता परिवर्त्यताका पूर्वसर्त तथा जोखिमहरु विश्लेषण गर्दा तत्काल पुँजीगत खाता परिवर्त्यता पूर्ण खुला गर्न सम्भव देखिँदैन । नेपालको बृहत आर्थिक सूचकांक, वित्तीय क्षेत्रको अवस्था तथा वर्तमान सुपरीवेक्षकीय क्षमतामा व्यापक सुधार नगरेसम्म पुँजीगत खाता परिवर्त्यता पूर्ण खुला गर्न जोखिमयुक्त देखिन्छ ।
पर्याप्त अध्ययन बिना, अविकसित पुँजीगत खाता परिवर्त्यता सम्बन्धि निर्णय गर्दा दीगोपन नहुने तथा अर्थतन्त्रमा अस्थिरता ल्याउन सक्ने जोखिमबारे सचेत रही यस सम्बन्धमा विभिन्न देशहरुको अनुभवबारे व्यापक अध्ययन गर्नुपर्ने हुन्छ ।
नेपालले अविकसित तथा पूर्ण तयारी बिना पुँजीगत खाता परिवर्त्यता सम्बन्धी निर्णय गर्दा आएको एसियन फाइनान्सियल क्राइसिस तथा ल्याटिन अमेरिकन क्राइसिसबाट पाठ सिकेर अगाडि बढ्दा राम्रो हुने देखिन्छ । यस सम्बन्धमा नेपालले भारतको पाइला पच्छयाई क्रमशः चरणबद्ध रुपमा पाइला चल्दा राम्रो हुने देखिन्छ ।
पुँजीगत खाता परिवर्त्यता सम्बन्धी निर्णय गर्नू पूर्व आन्तरिक अर्थतन्त्रको सबलीकरण गर्नतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि बजेट घाटा कम गर्ने, व्यापार घाटा घटाउने, करको दर कम गर्दै जाने, मुद्रास्फीति कम तथा स्थिर गर्ने, अर्थतन्त्रको आकार बढाउने, वित्तीय तथा मौद्रिक नीतिका उपकरणहरु सबलीकरण गर्ने, परिवर्तनशील विनिमय दर लागु गर्ने गरी अर्थतन्त्र सबलीकरण गर्ने कार्यहरु गर्नुपर्ने देखिन्छ ।
प्रश्न पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला गर्ने कि नगर्ने भन्ने होइन । प्रश्न पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला गर्न के के तयारी गर्ने ? र कसरी गर्ने ? भन्ने हो । तत्काल पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला सम्भव नरहेता पनि भविष्यमा खुला गर्नूपर्ने नै हुन्छ । तसर्थ, यसका लागि सचेत भएर आवश्यक तयारी गर्नु वर्तमान आवश्यकता रहेको देखिन्छ ।
सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन गइरहेको तथा देशमा थप पुँजीको आवश्यकता रहेको सन्दर्भमा अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच बढाउन तथा मुलुकमा ठूला बहुराष्ट्रिय कम्पनी तथा लगानी भित्र्याउन समेत भविष्यमा पुँजीगत खाता परिवर्त्यता पूर्णरुपमा खुला गर्न आवश्यक पर्ने देखिन्छ । तर, यसका लागि पर्याप्त तयारी भईसकेको देखिँदैन ।
हाल मुलुकको विदेशी मुद्रा प्राप्तिको मुख्य स्रोत विप्रेषण हो । यो आफैंमा भरपर्दो र दीगो स्रोत होइन । विदेशी मुद्रा प्राप्तिको पर्याप्त साधन स्रोत सुनिश्चितता बिना पुँजीगत खाता पूर्णरुपमा खुला गर्दा मुलुक भित्रिने विदेशी मुद्रा भन्दा बाहिरिने विदेशी मुद्रा बढी हुन गई देशमा आर्थिक संकट आउने जोखिम रहन्छ ।
तसर्थ, देशमा औद्योगीकीकरण गरी आयात घटाउने र निर्यातलाई विविधिकरण गर्दै उच्च मूल्यका वस्तु तथा सेवाको साथै पर्यटन, जलविद्युत, आईटी तथा पुँजीगत वस्तुका पार्टपुर्जा आदि निर्यात गर्दै दीगो र भरपर्दो विदेशी मुद्रा प्राप्तिको स्रोत व्यवस्थापन गर्न सके पुँजीगत खाता परिवर्त्यताको आधार तयार हुन्छ ।
(नेपाल राष्ट्र बैंकका सहायक निर्देशक झाले त्रिभुवन विश्वविद्यालयमा बैंकिङ नियमन तथा सुपरीवेक्षण विषयमा पीएचडी गरिरहेका छन् ।)







प्रतिक्रिया