भारतको कर्नाटकमा २६ वर्षदेखि संस्कृत पढाउँदैछन् मुस्लिम शिक्षक, देवभाषामा सानैदेखि लगाव

154
Shares

एजेन्सी । भारतको कर्नाटक राज्यमा रहेको विजयपुरामा एकजना मुस्लिम शिक्षकले विगत २६ वर्षदेखि संस्कृत भाषा पढाइरहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ ।

५५ वर्षीय शकील अहमद मौलासाब अंगडी नाम गरेका शिक्षक कक्षामा पस्नेबित्तिकै ‘गुरुर्ब्रह्मा, गुरुर्विष्णु, गुरुदेवो महेश्वरः’ को शुद्ध उच्चारण गर्छन् । त्यसपछि उनी विद्यार्थीहरूलाई नाम र घरको ठेगाना संस्कृतमा सोध्छन् ।

विद्यार्थीले दिएको उत्तरमा आएका त्रुटिलाई मिलाइदिन्छन्, प्रश्न सोध्न उत्प्रेरित गर्छन् र पाठ सकेपछि ‘जयतु संस्कृतम्, जयतु मनुकुलम्’ भनेर कक्षाबाट बाहिरिन्छन् ।

अंगडीले वृषभ लिंगाचार्य संस्कृत पाठशालामा २६ वर्षदेखि संस्कृत पढाइरहेका छन् । उनी त्यहाँ कक्षा १० मा हुँदा संस्कृतप्रति उनको रुचि बढ्यो । उनले प्रतिभा देखाएपछि बथनल मठका प्रमुख वृषभ लिंगाचार्य स्वामीजीको ध्यान उनीप्रति आकर्षित भयो । त्यसपछि स्वामीजीले अंगडीलाई जामखण्डीमा रहेको लक्ष्मीनरसिंह संस्कृत पाठशालामा साहित्य अध्ययन गर्न सुझाव दिए ।

‘स्वामीजीको सांस्कृतिक प्रभाव मेरो लागि ठूलो प्रेरणाको स्रोत हो,’ उनले बताए, ‘देवाभाषा संस्कृत मेरा लागि जीवनभाषा हो ।’
उनले विश्व संस्कृत दिवसको अवसरमा संस्कृत खेल र प्रतियोगिताहरू पनि आयोजना गरेका थिए ।

घरमा हुँदा अंगडीले मुस्लिम रीतिरिवाज मान्ने गर्छन् । आफूलाई समुदायका नेताहरूले सधैं समर्थन गरेको उनी बताउँछन् ।

‘मुसलमान धर्मगुरुहरूले संस्कृत पढाएको कामलाई प्रशंसा गर्नुभएको छ,’ उनी भन्छन् ।

उनका चार सन्तान अर्फत, अरबाज, अल्फिया र तस्फिया पनि संस्कृत सिकिरहेका छन् ।

सारंगमठ–गछिनामठ सिंगडीका प्रभुसारंगदेव शिवाचार्यले अंगडीलाई सामुदायिक सद्भावको नमूना भनेका छन् । ‘कुनै पनि भाषा सिक्नका लागि धार्मिक व्यवधान नरहेको उनले देखाएका छन्,’ शिवाचार्यले बताए ।