
विराटनगर । रोजगारीको खोजीमा हरेक दिन देश छाड्ने नेपाली युवा–युवतीको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । ठीक उल्टो, कोशी प्रदेशको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा काम खोज्दै आउने भारतीय कामदारको लर्को छ ।
तिनै भारतीय कामदारको लर्कोले यहाँका उद्योगहरू सञ्चालन हुँदै आएका छन्। यो औद्योगिक करिडोरमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूमा ५० हजारभन्दा बढी कामदार छन् । तीमध्ये दक्ष र उच्च दक्ष गरी झन्डै २० हजार कामदार भारतीय रहेको प्रारम्भिक तथ्यांक छ । बाँकी कामदार नेपाली नागरिक हुन् । उनीहरू प्रायः सबै तल्लो तहको मजदुरका रूपमा सीमित रहेको पाइएको छ ।

एक उद्योगीका अनुसार यहाँका प्रायः सबै उद्योगमा दक्ष र उच्च दक्ष कामदार भारतीय नागरिक हुन् ।
‘तल्लो तहका कामदार र मजदुर चाहिँ नेपाली नागरिक बढी छन् । उद्योगहरूले दूतावासको स्वीकृतिमा कामदारको बैंक खाता खोलेर त्यही खातामा पारिश्रमिक हाल्ने गरेका छन्,’ ती उद्योगीले भने, ‘भारतीय कामदार राख्दा उद्योगीले सामाजिक सुरक्षा कोषको झन्झटबाट पनि मुक्ति पाइरहेका छन् ।’
श्रम तथा रोजगार प्रदेश कार्यालय विराटनगरका कारखाना निरीक्षक अधिकृत दुर्गा आचार्य सुनसरी मोरङ औद्योगिक क्षेत्रमा भारतीय कामदार अत्यधिक रहेको बताउँछन् । प्रायः सबै उद्योगमा भारतीय कामदार छन् । तर, उद्योगहरूले कति भारतीय कामदार आफ्नो उद्योगमा राखेका छन् भन्ने जानकारी कार्यालयलाई दिएका छैनन् ।
उद्योग निरीक्षणका क्रममा मात्र कार्यालयले भारतीय कामदारको विवरण लिने गरेको छ । ‘अधिकांश उद्योगहरूले सप्लायर्समार्फत भारतीय कामदार ल्याएर काममा लगाउने गरेका छन्,’ आचार्यले भने ।

यहाँका प्रायः सबै उद्योगमा माथिल्लो तहका कामदार भारतीय नागरिक छन्। मजदुर र तल्लो तहका कामदारका रूपमा नेपाली नागरिक रहेको पाइएको छ। उनले भने, ‘भारतीय नागरिक नहुने हो भने यो करिडोरका उद्योग नै चल्ने स्थिति देखिँदैन ।’
करिडोरका ९० प्रतिशत उद्योगमा भारतीय कामदार छन् । यहाँका प्रायः सबै उद्योगमा मेशिन अपरेटर, सुपरभाइजर, प्लान्ट इन्चार्ज, बायलर अपरेटरदेखि उद्योगको प्रशासनिक तह र प्राविधिक तथा व्यवस्थापन पक्षमा भारतीय नागरिकको पकड रहेको श्रम तथा रोजगार कार्यालयको बुझाइ छ।
यहाँको आरती स्ट्रिप्समा आठ सयभन्दा बढी कामदार छन् । तीमध्ये झन्डै ६ सय भारतीय नागरिक छन् । यो उद्योगका लगानीकर्ता, मुख्य व्यवस्थापक र हरेक प्राविधिक पक्षमा भारतीय नागरिक छन् । उद्योगका कामदारमध्ये ८० प्रतिशत भारतीय नागरिक छन् । प्रशासन प्रमुख जीवन तिम्सिनाले भने, ‘कामको दक्षताका आधारमा भारतीयलाई काममा राखिएको हो ।’ उनका अनुसार श्रम स्वीकृति लिन नपर्ने प्रावधानका कारण उद्योगलाई भारतीय कामदार राख्न सहज भएको हो।
‘नेपाली दक्ष कामदार नै पाइँदैन । पाइए पनि उनीहरू राजनीतिक रंगको आन्दोलन र धर्नामा बढी सक्रिय रहने हुँदा उद्योगको उत्पादन नै प्रभावित हुने गर्छ,’ तिम्सिनाले भने, ‘त्यसैले यहाँका हरेक उद्योगका लगानीकर्ता उद्योगभित्र आन्दोलन र धर्नाको तनावबाट मुक्त हुनकालागि पनि भारतीयलाई काममा राख्न रुचाउँछन् ।’
सबैभन्दा जटिल पक्ष भनेको नेपाली कामदारलाई कामबाट निकाल्दा उद्योगले सेवा सुविधा दिनुपर्छ । नदिए उद्योगमा आन्दोलन चर्किन्छ । भारतीय कामदार राख्दा पछि सेवा सुविधा पनि दिनु नपर्ने भएकाले उद्योगीहरू भारतीय कामदारप्रति आकर्षित भएका हुन् । ‘यसैका कारण पनि यहाँका उद्योगले स्थानीयभन्दा भारतीयलाई काममा राख्न रुचाउँछन् । उद्योगभित्र दुर्घटना हुँदा भारतीयलाई उपचार र सामान्य खर्च दिएर घर पठाउन सकिन्छ,’ एक उद्योगीले भने, ‘नेपाली कामदारको हकमा त्यो सम्भव हुँदैन । मोटो रकम क्षतिपूर्ति दिनैपर्छ । त्यसैले पनि यहाँका उद्योगी भारतीय कामदारप्रति आकर्षित भएका हुन् ।’ उनका अनुसार काममा पनि नेपालीभन्दा बढी जिम्मेवार भारतीय हुने गरेका छन्।
श्रम तथा रोजगार प्रदेश कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार यहाँको आरती स्ट्रिप्समा ६ सय, सुनसरी खनारको रिलायन्स स्पिनिङ मिल्समा १९७ जना, बावा भेचिटेबल उद्योगमा ४५ जना, स्वास्तिक आयलमा ३४ जना, अर्विन्द पल्प एण्ड पेपर मिलमा १८ जना, ट्राइकोट प्रालिमा ४० जना, जयश्री फ्युजटेक उद्योगमा ३८ जना तथा मार्बोक्युटस प्रालि उद्योगमा २६ जना गरी आधा दर्जन उद्योगमा मात्र झन्डै एक हजार भारतीय कामदार कार्यरत छन् ।
यो संख्या उद्योग निरीक्षणका क्रममा कार्यालयले संकलन गरेको हो । यो कार्यालयले कोशी प्रदेशका १० जिल्लाका उद्योगको निरीक्षण गर्नुपर्ने हो। तर, जनशक्तिको अभावमा कार्यालयले मोरङ र सुनसरीका ६ सय उद्योगमध्ये १० प्रतिशत उद्योगको पनि निरीक्षण गर्न सकेको छैन ।
श्रम स्वीकृति लिन नपर्ने प्रावधानका कारण उद्योगीले भारतीय कामदारको विवरण पेश गर्दैनन् । कार्यालयका कारखाना निरीक्षक आचार्यले भने, ‘उद्योगले भारतीय कामदार नखुलाए पनि सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मात्र कुल मजदुर संख्याको करिब ३० प्रतिशत भारतीय कामदार रहेको अनुमान छ ।’
करिडोरको सबैभन्दा बढी रोजगारी दिने सुनसरी खनारको रिलायन्स स्पिनिङ मिलमा ४ हजारभन्दा बढी कामदार छन् । तीमध्ये १९७ जना भारतीय नागरिक उच्च ओहोदामा कार्यरत रहेको उद्योगका प्रमुख प्रशासनिक प्रमुख महेश पोखरेलले बताए । उनले भने, ‘उद्योगको दक्ष र उच्च दक्ष कामदारका रूपमा सबै भारतीय छन्। नेपाली दक्ष कामदार नै भेटिँदैन। भेटिए पनि उद्योगभित्र कामभन्दा बढी आन्दोलन गर्नमा व्यस्त हुन्छन्।” उनले भने, “उद्योगको उत्पादनलगायतका प्रमुख पक्षमा भारतीय नागरिक हुँदा उत्पादनमा कुनै दिन असर पर्दैन ।’
सुनसरी, मोरङ र झापामा रहेका प्लाई उद्योगका प्रायः सबै मजदुर भारतीय हुन् । ‘ती जिल्लामा करिब ५ दर्जन प्लाई उद्योग छन् । ती सबै उद्योगमा भारतीय मजदुर छन्। उनीहरू उद्योगको मेशिन नै ठेक्कामा लिएर केही नेपालीलाई मजदुरमा राखेर काम गर्छन्,’ कारखाना श्रमिक संघ कोशी प्रदेशका अध्यक्ष रमेश थापाले भने, ‘त्यस्तोमा नेपालीले दिनको पाँच सय कमाउँदा भारतीयले हजार रुपैयाँसम्म कमाउने गरेका छन्। चाउचाउ, घिउतेलजस्ता उद्योगमा भारतीय कामदार छैनन्।’त्यस बाहेक कोशी प्रदेशका प्रायः सबै ठूला उद्योगमा भारतीय कामदारको प्रभुत्व रहेको उनले बताए ।

समग्र उद्योग ट्रेड युनियन जिफन्ट नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष मनोज मगरका अनुसार मोरङ, सुनसरी र झापाका प्रायः सबै ठूला उद्योगका मेशिन अपरेटर, बायलर अपरेटर, प्लान्ट इन्चार्ज, सुपरभाइजरसहितका प्राविधिक र प्रशासनिक क्षेत्रमा भारतीय नागरिक नै कार्यरत छन्।
‘दक्ष र सक्षम नेपाली कामदार नै भेटिँदैनन्। भेटिए पनि सेवाको अन्त्यमा सुविधा दिनुपर्ने बाध्यताले उद्योगीले भारतीय नै खोज्छन्,’ मगरले भने, ‘भारतीयलाई सेवाको अन्त्यमा सुविधा दिन नपर्ने भएकाले पनि उद्योगीले ठेक्कामा भए पनि भारतीय नागरिकलाई ल्याएर काम लगाउँदै आएका छन्।’
त्यसरी आयात गरिएका कामदारलाई उद्योगले काम र उत्पादनको पनि ठेक्का दिने गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ क्षेत्रका ठूला उद्योग भारतीय कामदारमा निर्भर रहेको स्वीकारे । ‘भारतीय कामदार नराख्ने हो भने उद्योग नै चल्ने स्थिति छैन,’ उनले भने, ‘स्वदेशमा दक्ष कामदार भेटिँदैन। भेटिए पनि दलीय राजनीतिक प्रभावले काम नै गर्दैनन्। भारतीयलाई यहाँको राजनीतिसँग सरोकार हुँदैन । उनीहरू कामलाई पहिलो प्राथमिकता दिन्छन्।’







प्रतिक्रिया