
एजेन्सी । चिनियाँ विद्युतीय गाडी निर्माता बिल्ड योर ड्रिम्स (बीवाईडी) ले सन् २०२५ को पहिलो ६ महिनामा सातवटा देशमा दबदबा कायम गरेको छ ।
कारन्युजचाइनामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, हङकङ, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, स्पेन, इटाली र ब्राजिल यी सात देशको बजारमा बीवाईडीले वर्चस्व कायम गरेको हो । कम्पनीका ब्रान्ड तथा जनसम्पर्क महाप्रबन्धक ली युनफेईले स्वच्छ ऊर्जाबाट चल्ने गाडी (ईभी) को बिक्रीमा बीवाईडी अगाडि रहेको तथ्यांकबाट नै पुष्टि हुने बताए ।
बीवाईडीले सन् २०३० सम्म आफ्नो उत्पादित गाडीमध्ये आधा चीनबाहिर बिक्री गर्ने लक्ष्यसहित युरोप, दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया र पश्चिम एसियामा तीव्र रूपमा निर्यात विस्तार गरिरहेको छ । कम्पनीले यसै रणनीतिअनुसार थाइल्यान्ड, ब्राजिल, स्पेन लगायतका देशहरूमा व्यापक उपस्थिति देखाएको हो ।
हङकङ र सिंगापुरमा बिक्रीमा अग्रस्थान
बीवाईडीले हङकङमा ४ हजार ९ सय ९ र सिंगापुरमा ४ हजार ६ सय ६७ गाडी बिक्री गर्दै दुवै बजारमा अग्रस्थान हासिल गरेको छ । यी दुवै बजारमा कम्पनीले अन्य प्रतिस्पर्धी ब्रान्डहरूलाई पछि पार्दै ईभीको क्षेत्रमा प्रभुत्व जमाएको छ ।
थाइल्यान्डमा प्रतिस्पर्धीको तुलनामा चार गुणा बढी बिक्री
थाइल्यान्डमा कम्पनीले पहिलो ६ महिनामा २४ हजार ७२ वटा गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६४.१ प्रतिशतको वृद्धि हो । यो बिक्री दोस्रो स्थानमा रहेको बेलायती कम्पनी एमजीको तुलनामा चार गुणा बढी हो । बीवाईडीको (१ लाख ५० हजार युनिट उत्पादन क्षमता भएको) थाइल्यान्ड कारखाना सन् २०२४ को जुलाईदेखि सञ्चालनमा आएको छ र यो कारखानाबाट आसियान राष्ट्रहरूमा गाडी निर्यात गरिन्छ ।
इन्डोनेसिया चेरीलाई पछि पारेको बीवाईडीले
इन्डोनेसियामा बीवाईडीले १४ हजार ९२ वटा गाडी बिक्री गरेको छ । त्यहाँ बीवाईडीको प्रतिस्पर्धी चेरी ६ हजार २ सय ५३ युनिटका साथ निकै पछि परेको छ । बीवाईडीको डेन्जा ब्रान्डले पनि थप ५ हजार ७ सय ३३ युनिट बिक्री गर्दै स्थानीय बजारमा तेस्रो स्थान हासिल गरेको छ । यसरी पहिलो ६ महिनामा बीवाईडीले इन्डोनेसियामा १९ हजार ८ सय २५ युनिट गाडी बिक्री गरेको छ ।
स्पेन र इटालीमा टेस्ला र बीएमडब्ल्यू पछि परे
स्पेनमा बीवाईडीले १० हजार १ सय ९६ युनिट गाडी बिक्री गर्दै टेस्लालाई पछि पारेको छ । टेस्लाले ७ हजार १ सय ६६ युनिट बिक्री गरेको थियो । बीवाईडीले हाल हंगेरी र टर्कीपछि तेस्रो युरोपेली कारखाना निर्माण गर्ने योजना अन्तर्गत स्पेनलाई सम्भावित स्थानको रूपमा हेरिरहेको छ ।
इटालीमा पनि कम्पनीले ९ हजार ५ सय १७ युनिट बिक्री गर्दै बीएमडब्ल्यू र टेस्लालाई पछि पारेको छ ।
ब्राजिल सबैभन्दा सफल बजार
बीवाईडीको लागि सबैभन्दा सफल बजार ब्राजिल देखिएको छ । त्यहाँ कम्पनीले ४७ हजार १०७ युनिट बिक्री गर्न सफल भएको छ ।
उज्बेकिस्तानमा पनि अग्रता
उज्बेकिस्तानमा पनि बीवाईडी ईभी बिक्रीमा अग्रस्थानमा रहेको छ । कम्पनीले ९ हजार ७ सय ८ युनिट गाडी बिक्री गरेको छ, जसमा बीवाईडी सील–यू सबैभन्दा बढी बिक्री भएको मोडल हो । बीवाईडी र उज्बेक कार निर्माता उजअटोको संयुक्त लगानीमा सञ्चालन भइरहेको कारखानाको वार्षिक उत्पादन क्षमता हाल ५० हजार युनिट रहेको छ र भविष्यमा ५ लाख युनिट पुर्याउने लक्ष्य लिइएको छ ।
२०२५ को पहिलो ६ महिनामा २१ लाख गाडी बिक्री
बीवाईडीले सन् २०२५ को पहिलो ६ महिनामा कुल २१ लाख ४५ हजार ९ सय ५४ युनिट गाडी बिक्री गर्दै विश्वको सबैभन्दा ठूलो ईभी निर्माताको हैसियत थप सुदृढ बनाएको छ । चिनियाँ बजारमा चुनौतीका बावजुद कम्पनीले अन्तर्राष्ट्रिय विस्तारलाई प्राथमिकता दिइरहेको छ ।
आगामी योजना
बीवाईडीले आफ्नो निर्यात योजना सफल बनाउनका लागि ७ हजारदेखि ९२ सयवटा गाडी बोक्न सक्ने आठवटा कार क्यारियर जहाज निर्माण गरिरहेको छ । यसले गाडी ढुवानीलाई सुलभ बनाउनेछ । साथै, कम्पनीले युरोपमा नयाँ कारखाना, दक्षिण एसियाली निर्यात केन्द्रहरू र पश्चिम एसियामा नयाँ डिलर नेटवर्क स्थापना गर्ने लक्ष्य लिएको छ ।
बीवाईडी विश्व बजारमा द्रुत गतिमा फैलिएको र उसको बिक्री दर पनि लोभलाग्दो भइरहेको देख्दा आगामी वर्षहरूमा यो कम्पनी ईभीको क्षेत्रमा अग्रणी बन्ने संकेत देखिएको छ ।








प्रतिक्रिया