लिपमोटर बीटेनको स्निक प्रिभ्यू: १६० किलोवाट मोटर क्षमता भएको कारको मूल्य ६० लाखभन्दा कम

609
Shares

काठमाडौं । लिपमोटर गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्सले लिपमोटर बीटेन मोडेलको स्निक प्रिभ्यू कार्यक्रम आयोजना गरेको छ । कम्पनीले उत्तरढोका स्थित आफ्नै शोरूममा आयोजित उक्त कार्यक्रममा मिडिया प्रतिनिधि र अटोप्रेमीलाई नयाँ इलेक्ट्रिक गाडीको पहिलो झलक देखाएको हो ।

चिनियाँ इलेक्ट्रिक ब्रान्ड लिपमोटरको बीटेन मोडेल नेपालमा पहिलोपटक सार्वजनिक हुन लागेको हो । कम्पनीका अनुसार यो मोडेलले विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

लिपमोटर बीटेनमा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक चार्ज गर्दा ४६० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ । १६० किलोवाट क्षमताको मोटरले पावर र स्पीडबीच सन्तुलन ल्याउने उल्लेख गरिएको छ । साथै, यो गाडीले युरोपेली एनक्यापक सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ ।

स्निक प्रिभ्यूमा सहभागीहरूले बीटेनको आकर्षक डिजाइन, स्मार्ट फिचर र सहज ड्राइभिङ अनुभवको प्रशंसा गरे ।

गाडीको औपचारिक सार्वजनिक लञ्च तथा मूल्य घोषणा आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ । उक्त एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यद्यपि मूल्य औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । कम्पनी स्रोतले यसको मूल्य ६० लाख रूपैयाँभन्दा कम हुने संकेत दिएको छ ।

साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले लिपमोटर बीटेनलाई पर्फेक्ट टेनको उपमा दिँदै भने, ‘आजको स्निक प्रिभ्यू कार्यक्रम यो गाडीले दिन सक्ने समग्र अनुभवको झलक मात्र हो । डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक पक्षमा लिपमोटर बीटेन साँच्चिकै उत्कृष्ट छ ।’

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्सले प्युजो, सिट्रन र लिपमोटर जस्ता ब्रान्डमार्फत नेपाली बजारमा वातावरणमैत्री र स्मार्ट सवारी साधनको विस्तार गर्दै आएको छ ।