लम्पी स्किनबाट कोशी प्रदेशका १० जिल्ला प्रभावित: झन्डै २१ हजार पशुचौपायामा संक्रमण, ५५५ वटा मरे


विराटनगर । दुई वर्षअघि फैलिएको महामारीको पीडा भुल्न नपाउँदै गाई–भैँसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमणले फेरि कोशी प्रदेशका किसानहरूलाई पिरोल्न थालेको छ ।

२०७९/८० मा कोशी प्रदेशमा लम्पी स्किनको महामारी फैलिँदा धेरै किसानले गोठ नै रित्तिएको देखेका थिए । अहिले पुनः सोही रोग फैलिएपछि किसानहरू चिन्तित बनेका छन् ।

हाल दुई सातादेखि कोशी प्रदेशका १४ मध्ये १० जिल्लामा लम्पी स्किन रोग फैलिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका अनुसार आइतबारसम्म २० हजार ५९० गाई, गोरु, भैँसी र राँगा संक्रमित भइसकेका छन् भने ५५५ वटा चौपाया मरेका छन् ।

२०७९ मा प्रदेशका १४ वटै जिल्लामा यो रोग फैलिएर २ लाख ३७ हजार ४२१ चौपाया प्रभावित हुँदा ६ हजार ६८६ वटा मरेका थिए । सबैभन्दा धेरै क्षति दुध उत्पादनका लागि अग्रणी मानिएको इलाम जिल्लामा भएको थियो । त्यहाँ करिब २० हजार चौपाया संक्रमित हुँदा १ हजार ३८२ मरेका थिए ।

हाल इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा रोग फैलिएको छ । तेह्रथुम, सङ्खुवासभा, ओखलढुंगा र सोलुखुम्बु हालसम्म सुरक्षित मानिएका छन् ।

सबैभन्दा बढी झापामा १३ हजार ९९१ चौपाया संक्रमित हुँदा ३६६ मरेका छन्। अन्य जिल्लाहरूमा मोरङमा २ हजार १७३, इलाममा १ हजार ८७२, सुनसरीमा १ हजार ५१६, उदयपुरमा ५०१, खोटाङमा ३५७, भोजपुरमा ८४, ताप्लेजुङमा ५०, धनकुटामा ३४ र पाँचथरमा १२ चौपाया संक्रमित भएका छन्।

आइतबारसम्म मृत्यु हुनेमा झापामा ३६६, मोरङमा ८६, सुनसरीमा ५२, इलाममा ३९, उदयपुरमा ७, धनकुटामा ३ र ताप्लेजुङमा १ वटा रहेका छन्।

पशु चिकित्सक तथा निर्देशनालयका प्रवक्ता विनोदकुमार साहका अनुसार हालसम्म प्रदेशभर ३ लाख २ हजार ५६२ चौपायामा लम्पी स्किनविरुद्धको खोप दिइएको छ ।

उनका अनुसार प्रारम्भमा संक्रमण तीव्र भए पनि अहिले केही हदसम्म नियन्त्रणमा आउँदैछ । खोप लगाउन अटेर गर्ने किसानका पशुहरू बढी प्रभावित भएको उनको दाबी छ ।

भुसुना, लामखुट्टे, झिँगा र कीराको टोकाइबाट सर्ने यो रोग लागेपछि पशुमा उच्च ज्वरो आउने, शरीरमा गाँठागुँठी देखिने, घाउ भएर पिप वा रगत बग्ने लक्षण देखिन्छ ।

२०७९ मा झापामा ७८५, इलाममा १,३८२, पाँचथरमा ४७४, ताप्लेजुङमा २६७, मोरङमा ९८६, उदयपुरमा ४२१, खोटाङमा ३६०, ओखलढुंगामा ३५७, सोलुखुम्बुमा ३५, धनकुटामा ४१०, तेह्रथुममा ३५४, संखुवासभामा ३०४, भोजपुरमा ११० र सुनसरीमा ४४१ पशु मरेका थिए ।

त्यसै महामारीमा झापामा २० हजार ४२७, इलाममा १९ हजार ८०९, पाँचथरमा ३४ हजार १०९, ताप्लेजुङमा ९ हजार ९९९, मोरङमा २२ हजार ९५०, उदयपुरमा २१ हजार ८१९, खोटाङमा १३ हजार ९५४, ओखलढुंगामा ८ हजार २८९, सोलुखुम्बुमा ७१६, धनकुटामा २२ हजार ५३६, तेह्रथुममा १८ हजार ७१, संखुवासभामा १४ हजार ४०७, भोजपुरमा ७ हजार ४३९ र सुनसरीमा २२ हजार ८९६ चौपाया संक्रमित भएका थिए ।