बीवाईडीका अधिकारीहरूलाई भारतमा काम गर्न अवरोध, वार्षिक बिक्री लक्ष्य पूरा नहुने जोखिम

427
Shares

एजेन्सी । चीनको बीवाईडी कम्पनीले भारतमा कारोबार विस्तारको प्रयास गरिरहेको छ ।

भारत सरकारले विद्युतीय गाडी निर्माता बीवाईडीलाई कारोबार गर्न अवरोध गरिरहेको भए पनि उसले उसले कारोबार विस्तारको प्रयास गरेको हो ।

अधिकांश चिनियाँ कम्पनी जस्तै बीवाईडीका कार्यकारी अधिकारीहरूले भारत आउने भिसा पाएका छैनन् । सन् २०२० मा भारतीय र चिनियाँ सैनिकहरूबीच सीमामा हिंस्रक भिडन्त भएपछि दुई देशको सम्बन्ध चिसिएकाले चिनियाँहरूलाई भिसामा समस्या परेको हो ।

विद्युतीय गाडीमा अग्रणी कम्पनी बीवाईडीले काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बोमा बोर्ड बैठक र उच्चस्तरीय व्यापारिक अन्तर्क्रियाहरू गरिरहेको छ । अझ सिंगापुरसम्म पनि उनीहरू पुग्ने गरेका छन् ।

भारतमा बीवाईडीका व्यवस्थापकीय निर्देशक केत्सु चाङले भारतमा वर्क पर्मिट पाएका छैनन् । उनले पहिला चेन्नईमा रहेको बीवाईडीको स्थानीय कारखानामा काम गर्थे ।

भारत र चीनबीच सीमाविवाद चर्किएपछि भारत छोडेका चाङले सन् २०२१ मा शेनजेनमा रहेको बीवाईडीको केन्द्रीय कार्यालयमा काम गरेका थिए । त्यही वर्ष उनी जापान पुगे । त्यहाँबाटै उनले भारत लगायतका एसियाली बजारहरूको सुपरिवेक्षण गर्छन् ।

कार निर्माताहरूलाई छिटो निर्णय लिन, उत्पादकत्वको समस्यालाई सम्बोधन गर्न र सामुदायिक सम्बन्ध स्थापित गर्नका लागि त्यही देशमा हुँदा सजिलो हुन्छ ।

सीमाविवाद बढेपछि चीनले पनि भारतीयहरूलाई देशमा आउन रोक लगाएको थियो । गत मार्च महिनासम्म पनि शेनजेनमा कार डीलरहरूलाई भेट्न खोज्ने भारतीयहरूलाई चीनले भिसा दिएको थिएन ।

विभिन्न कठिनाइ बेहोर्नुपरेको भए पनि बीवाईडी भारतीयहरूमाझ लोकप्रिय छ । सन् २०२५ को पहिलो ६ महिनामा भएको बीवाईडीको बिक्री सन् २०२४ भरिको जति नै छ ।

भारतीय अधिकारीहरूले बीवाईडीको लगानीलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन् । वाणिज्यमन्त्री पीयूष गोयलले भारतको रणनीतिक चासोका कारण बीवाईडीलाई निषेध गरिएको बताएका छन् ।

बीवाईडीले भारतको स्थानीय कम्पनीसँग मिलेर भारतमा कम्पनी खोल्नका लागि १ अर्ब डलर बराबरको योजना बनाएको भए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतमा उत्पादन गर्ने कम्पनीलाई आयातित विद्युतीय गाडीमा भन्सार घटाउने सुविधा भारत सरकारले दिएको छ र बीवाईडी त्यसका लागि योग्य छैन ।

उता अमेरिकी कम्पनी टेस्लाले भारतमा शोरूम खोलेको छ । अगस्ट महिनादेखि भारतमा टेस्लाका गाडीहरू बिक्न थाल्नेछन् ।

टेस्लाले भारतमा कार उत्पादन गर्ने योजना बनाएको छैन । त्यसैले उसको गाडीमा ११० प्रतिशतसम्म भन्सार लाग्नेछ ।

बीवाईडीले विदेशी बजारमा विस्तार गर्नु जरुरी छ किनकि उसले सन् २०२५ मा ५५ लाख कार बेच्ने लक्ष्य हासिल नगर्ने जोखिम छ । अहिले चीनमा बीवाईडीको माग घटेको छ र उसले गाडीमा भारी छुट दिएकाले चीन सरकार उससँग रिसाएको छ ।

तर, भारतमा कार उत्पादनका लागि लगानी गर्न नपाएकाले बीवाईडी चेन्नईमा रहेको एसेम्ब्ली कारखानामा मात्र निर्भर छ । त्यसले वर्षमा १० देखि १५ हजारवटा मात्र कारहरू बजारमा पठाउन सक्छ ।

भारत र चीनको सम्बन्धमा रहेको चिसोपन क्रमशः घट्दै गएकाले बीवाईडीले भारतमा बजार विस्तार गर्ने सपना देख्न थालेको छ ।