शान्तिवार्ताका लागि मलेसिया पुगे थाइल्यान्ड र कम्बोडियाका प्रधानमन्त्री

882
Shares

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाको सीमामा चलिरहेको हिंस्रक भिडन्त पाँचौं दिनमा प्रवेश गर्दा दुई देशका सरकारप्रमुखहरू वार्ताका लागि मलेसिया पुगेका छन् ।

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले सोमवार मलेसियामा वार्ता गर्न लागेका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको सरकारी निवासमा उक्त वार्ता हुने भएको छ । दुवै पक्षले शान्तिका लागि आआफ्नो शर्त पेस गर्ने इब्राहिमले बताए । उनले तत्कालै युद्धविराम हुनुपर्ने पनि बताएका छन् ।

युद्ध सुरु गरेको दोष दुवै देशले एकअर्कामाथि लगाइरहेका छन् । बिहीवार बारुदी सुरुङ विस्फोटमा पाँचजना थाई सैनिकहरू घाइते भएपछि भिडन्त सुरु भएको थियो ।

यस द्वन्द्वमा परेर ३५ जनाको मृत्यु भइसकेको छ । दुवै देशका गरी २ लाख ६० हजार मानिस विस्थापित भएका छन् ।

दुवै देशले कूटनीतिक सम्बन्धको स्तर घटुवा गरेर आआफ्ना राजदूतलाई फिर्ता बोलाएका छन् ।

दुवै पक्षले युद्धविरामका लागि सहमति जनाए पनि थाइल्यान्डले कम्बोडियाप्रति अविश्वास व्यक्त गरेको छ ।

अमेरिका र चीनले पनि वार्तामा पर्यवेक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ ।