
एजेन्सी । बेलायतको लन्डनबाट स्कटल्यान्डको ग्लास्गोतिर गइरहेको ईजीजेट विमानमा एकजना अधबैंसे व्यक्तिले बम हानेर उडाइदिन्छु भनेर चिच्याएपछि यात्रुहरूमाझ त्रास छाएको छ ।
आइतवार बिहान भएको घटनामा ती व्यक्तिले ‘ट्रम्प मुर्दाबाद,’ ‘अमेरिका मुर्दाबाद’, ‘यो विमानमा विमान विस्फोट गराइदिन्छु’ भन्दै चिच्याएका थिए ।
ईजेडवाई६०९ उडानमा भारतीय मूलका ती व्यक्तिले चिच्याएपछि एक अन्य यात्रुले उनलाई समातेर लडाएका थिए ।
ग्लास्गो विमानस्थलमा विमान ओर्लनेबित्तिकै तिनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन्देश दिन खोजेको भन्दै उनी चिच्याएका थिए । घटना हुँदा ट्रम्प स्कटल्यान्डको टर्नबेरी गल्फकोर्समा खेलिरहेका थिए ।
लुटोन विमानस्थलबाट उडेको एक घन्टापछि घटनाको भएको थियो ।
ती व्यक्तिले आक्रामक रूपमा हात उठाएर ‘अल्लाहु अकबर’ भनी चिच्याएका थिए । उनले विभिन्न धम्की दिइरहेपछि अर्का एक यात्रुले उनलाई समातेर भुइँमा पछारेका थिए । त्यसपछि उनी चिच्याउन छोडेका थिए ।
विमान गन्तव्यमा पुग्नै लागेकाले त्यसलाई आकस्मिक अवतरण प्रोटोकल अन्तर्गत अवतरण गराइएको थियो ।
आतंकवादनिरोधी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । ती व्यक्ति एक्लैले यो हर्कत गरेको र बृहत् आतंकवादी आक्रमणको जोखिम नरहेको उनीहरूले बताएका छन् ।
‘DEATH to Trump’ and ‘ALLAHU AKBAR’ — man causes panic on flight
— RT (@RT_com) July 27, 2025
Says he’s going to ‘BOMB the plane’
SLAMMED to ground by passenger pic.twitter.com/mVYwXqx7Yr








प्रतिक्रिया