टेस्लाले सामसुङ इलेक्ट्रोनिक्ससँग चिप्स किन्ने, करिब १७ अर्ब डलरको सम्झौता

224
Shares

एजेन्सी । टेस्ला कम्पनीले दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्ससँग चिप खरिद गर्नका लागि साढे १६ अर्ब डलर बराबरको सम्झौता गरेको टेस्लाका सीईओ इलोन मस्कले बताएका छन् ।

ठेक्कामा उत्पादन गर्ने कारोबारमा सामसुङले घाटा बेहोरिरहेको अवस्थामा टेस्लासँगको सम्झौताले उसलाई राहत दिने अपेक्षा गरिएको छ ।

मस्कको घोषणापछि सामसुङको सेयर ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

एक्समा पोस्ट गर्दै मस्कले सामसुङको टेक्सस फ्याबले टेस्लाको एआई६ चिप बनाउने र यसको रणनीतिक महत्त्व उच्च रहेको बताए ।

मस्कले टेक्ससको टेलरमा सामसुङले बनाउन लागेको कारखानालाई सन्दर्भ बनाएका हुन् । ठूला कम्पनीहरूलाई आफूसँग जोडिराख्न सामसुङले संघर्ष गरिरहेको अवस्थामा टेस्लासँगको सम्झौतापछि कारखाना बन्न सजिलो हुने भएको हो ।

यसअघि सामसुङले चिप आपूर्ति सम्झौताको घोषणा गरेको थियो तर कोसँग गरेको भनी खुलाएको थिएन । ग्राहकले सम्झौताको विस्तृत विवरण सार्वजनिक गर्न नदिएको सामसुङको भनाइ थियो ।

यो सम्झौता सन् २०३३ सम्म कायम रहनेछ ।

सामसुङलाई एआई चिप बनाउनका लागि चरम दबाब परिरहेको बेलामा यो सम्झौता भएको हो । टीएसएमसी र एसके हाइनिक्स जस्ता प्रतिस्पर्धीहरूको तुलनामा सामसुङ चिप उत्पादनमा पछि परेको छ ।

मेमोरी चिप बनाउने क्षेत्रमा सामसुङ संसारकै शीर्ष कम्पनी हो । उसले फाउन्ड्री बिजनेसमार्फत ग्राहकहरूले माग गरेबमोजिमको लजिक चिप पनि बनाउँछ ।

सामसुङ–टेस्ला सम्झौता दक्षिण कोरियाका लागि पनि महत्त्वपूर्ण किनकि उसले अमेरिकासँग चिप र जहाज निर्माणमा सहकार्य गर्न खोजेको छ । अमेरिकाले लगाउन खोजेको २५ प्रतिशत भन्सारलाई हटाउन वा घटाउनका लागि दक्षिण कोरियाले सम्झौता गर्न खोजेको हो ।