अमेरिकामा बसिरहेका आप्रवासीलाई ग्रीन कार्ड दिलाउने विधेयक दर्ता हुँदै, ८० लाखलाई फाइदा

4.7k
Shares

एजेन्सी । अमेरिका लगातार सात वर्षदेखि बसेका मानिसले स्थायी रूपमा बसोवास गर्नका लागि ग्रीन कार्डको निवेदन दिन पाउने व्यवस्था सहितको विधेयक दर्ता गरिने भएको छ ।

सिनेटर एलेक्स पाडिलाले यसै साता सिनेटमा विधेयक दर्ता गरिने बताएका छन् ।

ग्रीन कार्डका लागि निवेदन दिनुअघि अमेरिकामा लगातार सात वर्ष बसेको, कुनै आपराधिक रेकर्ड नभएको र योग्यताका अन्य सबै दायरा पूरा गरेको व्यक्तिले निवेदन दिन पाउनेछ ।

ट्रम्प प्रशासनले आप्रवासीहरूका विरुद्ध स्वेच्छाचारी कदम चालिरहेको अवस्थामा यो विधेयक ल्याइएको बताइएको छ ।
तर, यो विधेयक पारित हुने सम्भावना न्यून रहेको विज्ञहरू बताउँछन् ।

सिनेटर पाडिला सिनेट जुडिसिएरी सबकमिटी अन इमिग्रेशनका वरिष्ठ सदस्य हुन् । उनलाई होमल्यान्ड सिक्योरिटी मन्त्रीले केही दिनअघि प्रेस सम्मेलनबाट जबर्जस्ती बाहिर निकालेपछि उनी चर्चामा आएका थिए ।

सिनेटर डिक डर्बिनले यस विधेयकलाई कोस्पोन्सर गर्नेछन् भने सांसद जो लफ्ग्रेनले हाउस अफ रिप्रेजेन्टेटिभ्समा यसलाई पेश गर्नेछिन् ।

यस विधेयकले ८० लाखभन्दा बढी मानिसलाई ग्रीन कार्ड प्राप्त गर्ने बाटो खोल्ने पाडिलाको भनाइ छ । अमेरिकामा ग्रीन कार्डको लामो पर्खाइमा रहेका नेपालीहरूलाई यो विधेयक पारित भएमा राहत हुनेछ ।

यस विधेयकले इमिग्रेशन एन्ड नेशनलिटी एक्टको दफा २४९ लाई संशोधन गर्न खोजेको हो । त्यस व्यवस्थाले अमेरिकामा निश्चित समयसम्म बसेको र अन्य दायरा पूरा गरेको व्यक्तिलाई होमल्यान्ड सिक्योरिटी मन्त्रीले वैध रूपमा स्थायी आवासीय हैसियतको अनुमति दिन पाउँछ । दफा २४९ लाई पछिल्लोपटक सन् १९८६ मा अद्यावधिक गरिएको थियो ।

पाडिलाले यस्तै किसिमको विधेयक सेप्टेम्बर २०२२ मा पनि ल्याएका थिए । अहिले त्यसैलाई पुनः दर्ता गर्न खोजिएको हो ।