
विराटनगर । मधेश प्रदेशझैं कोशी प्रदेशमा पनि पानी नपरेको कारण आधा क्षेत्रफलमा मात्र धान खेती भएको छ । यो प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा बर्खे धान रोपाइँ हुनुपर्नेमा साउनको दोस्रो साता बित्दासम्म १ लाख ७० हजार ७९ हेक्टरमा मात्र धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ ।
कुलो, नहर र बोरिङको पानीले रोपिएको धान पनि सुकेर पराल हुन थालेको किसानको गुनासो छ । कतिपय खेतमा धुलो उडिरहेको अवस्था छ । गत वर्ष यो प्रदेशमा सतप्रतिशत धान रोपाइँ हुँदा १३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसपाली कोशीमा गत वर्षको तुलनामा २० प्रतिशतभन्दा बढीले उत्पादन घट्ने धान विज्ञ डा. राजेन्द्र उप्रेतीको अनुमान छ ।
‘तराईमा अहिले पनि रोपिएको धानको उत्पादन ७५ प्रतिशतसम्म हुन्छ । उच्च र मध्य पहाडी क्षेत्रमा अब रोपिएको धानको उत्पादन अत्यन्तै न्यून हुन्छ,’ उप्रेतीले भने, ‘बढीमा ३०–३५ दिनको बेर्ना रोप्नुपर्ने हो । अब ४५–५० दिनको बेर्ना रोप्दा उत्पादन न्यून स्वतः हुन्छ ।’ त्यसमा पनि किसानले गुणस्तरीय रासायनिक मलको सास्ती भोग्दै भारतीय कमसल मल प्रयोग गरेर रोपेको धानको उत्पादन विगतमा पनि घटेको उनको अनुभव छ ।
प्रदेशको अन्नको भण्डार मानिने तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापामा धान रोपाइँ हुने आधा जमिन अझै बाँझो छ । निर्देशनालयको तथ्यांक हेर्ने हो भने यी तीन जिल्लामा बर्खे धान रोपाइँ हुने १ लाख ९३ हजार २८५ हेक्टरमध्ये १ लाख १९ हजार ३१९ हेक्टरमा मात्र धान रोपिएको छ । त्यो पनि अधिकांश स्थानमा सुकेर पराल भएको स्थिति छ ।
मोरङ र सुनसरीमा ६८ हजार हेक्टरलाई सिँचाइ गर्ने सुनसरी–मोरङ सिँचाइ योजना र झापाका लागि कन्काई सिँचाइ योजना छ । ती दुई योजनाको पानीले रोपाइँ गरिएको धान पनि पानीको अभावले सुकेर पराल हुन थालेको पाइएको छ ।
झापाको धान रोपाइँ हुने ७५ हजार ४५९ हेक्टरमध्ये साउनको दोस्रो सातासम्ममा ५१ हजार ७६५ हेक्टर, मोरङको ६९ हजार ८१७ हेक्टरमध्ये ३४ हजार ९०८ हेक्टर र सुनसरीको ४८ हजार ९ हेक्टरमध्ये ३२ हजार ६४६ हेक्टरमा मात्र धान रोपिएको छ ।

साउनको दोस्रो सातासम्ममा प्रदेशको उच्च पहाडी क्षेत्रमा ५०.४२, मध्य पहाडी क्षेत्रमा ६४.७३ र तराई क्षेत्रमा ६१.७३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । उच्च पहाडी र मध्य पहाडी क्षेत्रमा धान रोप्ने समय घर्किसकेको छ भने तराईका जिल्लामा अब रोपिएको धानको उत्पादन आधा मात्र हुने विज्ञहरूको भनाइ छ ।
प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङको बर्खे धान रोपाइँ हुने ५ हजार ६६६ हेक्टर जमिनमध्ये २ हजार ४७७, संखुवासभाको ८ हजार ४९२ हेक्टरमध्ये ४ हजार २४६ हेक्टर र सोलुखुम्बुको १ हजार २२५ हेक्टरमध्ये १ हजार ३२ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । कृषि निर्देशनालयका अनुसार गत वर्ष यी तीनवटै जिल्लामा सतप्रतिशत रोपाइँ भएको थियो ।
त्यसैगरी, मध्य पहाडी जिल्ला पाँचथरको ५ हजार ८४५ हेक्टरमध्ये ४ हजार ३८६ हेक्टर, इलामको ११ हजार ६२ हेक्टरमध्ये ६ हजार ७४८ हेक्टर, भोजपुरको १२ हजार ५० हेक्टरमध्ये ८ हजार ६७६ हेक्टर, तेह्रथुमको ६ हजार ६१५ हेक्टरमध्ये ३ हजार १७५ हेक्टर, धनकुटाको ४ हजार ९३८ हेक्टरमध्ये २ हजार ६१७ हेक्टर, उदयपुरको १३ हजार ३८० हेक्टरमध्ये ७ हजार १४० हेक्टर, ओखलढुङ्गाको ३ हजार ८०३ हेक्टरमध्ये २ हजार ८२३ हेक्टर र खोटाङको १० हजार १८ हेक्टर बर्खे धान खेती हुने जमिनमध्ये ८ हजार १४४ हेक्टरमा मात्र धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ ।
प्रदेशको मध्य पहाडी क्षेत्रको बर्खे धान रोपाइँ हुने ६७ हजार ७१७ हेक्टरमध्ये ४३ हजार ७१३ हेक्टरमा मात्र धान रोपाइँ भएको अवस्था छ ।









प्रतिक्रिया