
एजेन्सी । अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति जोसेफ कबिलाविरुद्ध राजधानी किनशासामा देशद्रोहको मुद्दा चलेको छ ।
उनका विरुद्ध हत्याको आरोप पनि लगाइएको छ । एम२३ विद्रोही समूहलाई उनले गरेको सहयोगसँग उक्त आरोप जोडिएको छ ।
कबिलाले आफूमाथि लागेका आरोपहरूलाई अस्वीकार गरेका छन् र सैनिक अदालतमा चलिरहेको पुर्पक्षमा उपस्थित पनि भएका छैनन् ।
कबिलाका उत्तराधिकारी राष्ट्रपति फिलिक्स चिसेकेदीले कबिला नै विद्रोहीहरूको परिचालक भएको आरोप लगाएका छन् । एम२३ विद्रोहीहरूले खनिजहरू भएको पूर्वी भागलाई नियन्त्रणमा लिएको हो ।
विद्रोही र सरकारबीचको गत साता युद्धविराम सम्झौता भएको थियो तर लडाइँ अहिले पनि जारी छ ।
कबिला दुई वर्षदेखि कंगोबाहिर दक्षिण अफ्रिकामा बसिरहेका थिए । तर, गत मे महिनामा उनी कंगोको पूर्वी भागमा रहेको गोमा शहरमा आइपुगेका थिए ।
छिमेकी मुलुक रुवान्डाले एम२३ विद्रोही समूहलाई समर्थन गरिरहेको संयुक्त राष्ट्रसंघ र पश्चिमी मुलुकहरूले आरोप लगाएका छन् । तर, रुवान्डाले यी आरोपहरूलाई अस्वीकार गर्दै आफ्नो भूमिमा द्वन्द्व नआइपुगोस् भनी कारवाही चलाएको दाबी गरेको छ ।
कबिलालाई कंगोको संसद्को माथिल्लो सदनले आजीवन सिनेटर बनाएको थियो । गत मे महिनामा माथिल्लो सदनले कबिलाको उन्मुक्ति हटाएको थियो । उनलाई देशद्रोह, हत्या, विद्रोहमा सहभागिता र गोमा शहरमा जबर्जस्ती कब्जा लगायतका आरोपमा अभियोजन चलाउन उन्मुक्ति हटाइएको हो ।
५३ वर्षीय कबिलाले १८ वर्षसम्म कंगोमा शासन चलाएका थिए । पिता लरेन्ट कबिलालाई सन् २००१ मा गोली हानेर हत्या गरएपछि जोसेफ सत्तामा आएका थिए ।
सन् २०१९ मा उनले फिलिक्स चिसेकेदीलाई सत्ता हस्तान्तरण गरेका थिए । उनले बहालवाला सरकार तानाशाही भएको र देशमा लोकतन्त्रको स्थिति खस्किँदै गएको आरोप लगाएका छन् ।
कबिलाका सहयोगी फर्डिनान्ड काम्बेरेले सरकार कबिलामाथि बढी नै कठोर भएको आरोप लगाएका छन् । उनीमाथि पुर्पक्ष गरेर देशको राजनीतिबाट एक्ल्याउन खोजिएको काम्बेरेको भनाइ छ ।








प्रतिक्रिया