थाइल्यान्डले कम्बोडिया सीमाबाट हटायो १ लाख मानिस, हिंसात्मक भिडन्तमा १५ जनाको मृत्यु

294
Shares

एजेन्सी । थाइल्यान्डले कम्बोडिया सीमाबाट एक लाखभन्दा बढी मानिसलाई हटाएको जनाएको छ ।

दुई देशबीच भइरहेको हिंस्रक भिडन्त दोस्रो दिनमा प्रवेश गर्दा थाइल्यान्डले यो घोषणा गरेको हो ।

सीमावर्ती चारवटा प्रान्तबाट १ लाख ६ सय ७२ जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको हो ।

हिजो भएको हिंसात्मक भिडन्तमा १५ जनाको मृत्यु भएको र तीमध्ये १४ जना सर्वसाधारण भएको थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कम्बोडिया सरकारले यस संघर्षमा भएको हताहती वा विस्थापनका विषयमा विवरण दिएको छैन । तर, ओद्दार मिनचे प्रान्तका एक स्थानीय अधिकारीले रोयटर्स समाचार संस्थालाई एकजना सर्वसाधारणको मृत्यु भएको र पाँचजना घाइते भएको बताएका छन् । १५ सय परिवार विस्थापित भएको पनि उनको भनाइ छ ।

शुक्रवार बिहान उबोन रातचाथानी र सुरिन प्रान्तमा भिडन्त भएको थाइल्यान्ड सेनाले जनाएको छ । कम्बोडियाले आर्टिलरी र रुसमा बनेको रकेट प्रणालीहरू उपयोग गरेको पनि उसले जानकारी दिएको छ ।

सीमाको विवादित क्षेत्रमा बिहीवार दुई देशका सेनाबीच भिडन्त भएको छ । भिडन्तका लागि दुवैले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । सानातिना हतियारले आक्रमण हुँदै गर्दा पछि ६ वटा स्थानमा भारी हतियार प्रहार गरिएको थियो ।

विगत एक शताब्दीदेखि यी दुई देशबीच भूभागको सार्वभौमसत्ताका विषयमा तनाव चलिरहेको छ ।