एनसेल र टेलिकमलाई ९ सयवटा टावर निर्माणको स्वीकृति, गुणस्तरमा सुधार हुने दाबी

1.2k
Shares

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई टेलिकम कम्पनीलाई साढे ९ सयवटा टावर बनाउन स्वीकृति दिएको छ ।टेलिकम कम्पनीहरू एनसेल र नेपाल टेलिकमले देशैभरी सेवा विस्तार तथा क्षमता अभिवृद्धिका लागि मागेको पूर्वाधार निर्माणको स्वीकृति नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ ।

प्राधिकरणबाट गत असार ३० गते एनसलेलको ७४३ र टेलिकमको २ सय वटा टावर निर्माणको अनुमति जारी भएको हो । टेलिकम कम्पनीले दुई वर्षदेखि मागेको अनुमतिलाई लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणले रोकेर राखेको थियो ।

प्राधिकरणमा २०८० फागुन ८ मा भूपेन्द्र भण्डारी अध्यक्ष नियुक्त भएर गएदेखि टेलिकम क्षेत्रको दीर्घकालीन विकास निर्माणका कुनै पनि काम हुन सकेका थिएनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि प्राधिकरणका कर्मचारीलाई टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) , मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र नेपाल टेलिकमको बिलिङ प्रणालिको मेशिन खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायरगरेसँगै कर्मचारी आतंकित भएका छन् ।

प्राधिकरणका दर्जनौं कर्मचारी तथा तत्कालीन पदाधिकारीहरूले मुद्दा खेप्नुपरेको कारण काम गर्ने सम्बन्धित विभागका जिम्मेवार कर्मचारी नभएको र निर्णय गर्दा फसिने डरले प्राधिकरणका अध्यक्षको पछिल्लो एक वर्ष खेरै गएको छ ।

प्राधिकरणका अध्यक्षले फसिन्छ भन्ने डरले कुनै पनि निर्णय गर्न नसक्दा र भएकै कर्मचारीबाट काम लिन नसक्दा प्राधिकरणको गत वर्षको वार्षिक प्रगति पनि अहिलेसम्मकै न्यून छ ।

प्राधिकरण अध्यक्ष भण्डारीले कुनै निर्णय नै गर्न नसकेका कारण सञ्चार मन्त्रालले पटक पटक दिएको दबाब र निर्देशनपछि मात्रै प्राधिकरणबाट असार मसान्तको अन्तिममा मात्रै टेलिकम कम्पनीका २ वर्षदेखि रोकिएको फाइल स्वीकृत भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसलेलाई ४४३ वटा ग्राउण्ड बेस र ३०० वटा नन ग्राउण्ड वेसका बीटीएस निर्माण गर्न स्वीकृति दिएको छ । यस्तो स्वीकृतिमा नेपाल टेलिकमलाई समेत २ सय वटा ठाउँमा ग्राउण्ड बेस बीटीएस निर्माणको स्वीकृति दिएको छ ।

प्राधिकरणको उक्त स्वीकृतिपछि अब सम्बन्धित सेवाप्रदायकले इक्वीपमेन्ट खरिद, विदेशी मुद्रा सिफारिशसहितका काम गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले वीटीएसको लागि पूर्वस्वीकृति दिएकोले अव सेवाप्रदायकलाई दूरसञ्चारको क्वालीटी सुधार गर्न र सेवाको दायर बढाउनमा थप सहयोग पुग्छ । टेलिकम क्षेत्रले पूर्वाधार बनाउने भएकोले यसबाट मोबाइल सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने बुझाई प्राधिकरणको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई ९ सय मेगाहर्जका निश्चित फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी चलाउन अनुमति दिएको छ। यसले फोरजीको सेवा थप प्रभावकारी हुने भएको छ । प्राधिकरणको यो अनुमति पनि टेलिकमलाई थप रेन्जमा फोरजी सेवा पुर्याउन सक्ने छ । यो सुविधा हालको १८ सय मेगाहर्जको तुलनामा थप प्रभावकारी हुने टेलिकमको भनाइ छ ।