ट्रम्पले गोल्डन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको ठेक्का मस्कको कम्पनीलाई नदिने

385
Shares

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले गोल्डन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको ठेक्का इलोन मस्कको स्पेसएक्स कम्पनीलाई नदिन खोजेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।

स्पेसएक्सको स्टारलिंक र स्टारशिल्ड स्याटलाइट नेटवर्कले अमेरिकी सैन्य सञ्चारमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको भए पनि ट्रम्पले अब विकल्प खोजेको बताइएको छ ।

अमेजन डटकमको प्रोजेक्ट कुइपरका साथै अन्य ठूला रक्षा ठेकेदारहरूसँग ट्रम्प प्रशासनले कुराकानी गरिरहेको छ ।

ट्रम्प र मस्कबीच पछिल्लो केही समययता सम्बन्ध चिसिएको छ । तर, यी दुईबीच झगडा हुनुअघि नै अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले स्पेसएक्सको विकल्प खोज्न थालिसकेको थियो । १७५ अर्ब डलर बराबरको महत्त्वाकांक्षी प्रतिरक्षा प्रणाली बनाउन एउटा मात्र कम्पनीमा भर पर्नु ठीक नहुने सोच ह्वाइट हाउसले बनाइरहेको बताइएको छ ।

अन्तरिक्षमा आधारित प्रतिरक्षा कवच गोल्डन डोम परियोजनाबाट स्पेसएक्सलाई बेदखल गरिने प्रयासमाथि उक्त कम्पनीले टिप्पणी गरेको छैन । इलोन मस्कले उचित मूल्यमा सर्वोत्तम कम्पनीको सेवा लिनुपर्ने अमेरिकी कानून रहेको भन्दै त्यसो नगर्दा कानूनको उल्लंघन हुने बताएका छन् ।

स्पेसएक्सले ९ हजारभन्दा बढी स्टारलिंक स्याटलाइटहरू प्रक्षेपण गरिसकेको छ र उसले सरकारी ठेक्काहरू पनि व्यापक रूपमा पाउने गरेको छ । त्यसैले गोल्डन डोममा धेरैजसो भागहरूको काम स्पेसएक्सले नै पाउने विज्ञहरू बताउँछन् ।

प्रोजेक्ट कुइपरले ३ हजार लो अर्थ अर्बिट स्याटलाइट पठाउने योजना बनाएको भए पनि जम्मा ७८ वटा प्रक्षेपण गरेको छ । पेन्टागनले उससँग कुराकानी गरिरहेको छ । परम्परागत रूपमा ठेक्का पाइरहेका कम्पनीहरूको विकल्पमा अन्य व्यापारिक प्रविधि कम्पनीलाई राष्ट्रिय प्रतिरक्षा प्रणालीमा प्रवेश दिलाउने ट्रम्प प्रशासनको नियत देखिन्छ ।

अमेजनका कार्यकारी अध्यक्ष जेफ बेजोसले कुइपरलाई प्राथमिक रूपमा व्यापारिक उद्देश्यका साथ बनाइएको भए पनि लो अर्थ अर्बिटलाई प्रतिरक्षाका लागि प्रयोग गर्न सकिने बताएका छन् ।

इजरायलले आइरन डोमको सफल उपयोग गरिरहेको तथ्यबाट प्रेरित भएर अमेरिकाले त्यसभन्दा जटिल र अनेकौं तह भएको प्रतिरक्षा प्रणाली बनाउन खोजेको देखिन्छ । अमेरिकी गोल्डन डोमले भूउपग्रहहरू उपयोग गरी थप ठूलो भूभागलाई समेट्न खोजेको छ ।

अमेरिकी अधिकारीहरूले स्टोक स्पेस र रकेट ल्याब जस्ता नयाँ रकेट कम्पनीहरूसँग पनि कुराकानी गरिरहेको छ । स्पेसएक्स बाहेकका कम्पनीलाई ठेक्का दिन अधिकारीहरूले तयारी गरिरहेको बताइएको छ ।

अमेरिकाले थप भूउपग्रहहरू बनाउन जरुरी भइसकेको छ । पोहोर साल अमेरिकी संसद्ले स्पेस फोर्सलाई १३ अर्ब डलर दिएको थियो जबकि पहिला त्यो ९० करोड डलर मात्र थियो । निजी क्षेत्रलाई भूउपग्रहको उत्पादन बढाउनका लागि प्रेरित गर्ने उद्देश्यले यो रकम छुट्याइएको बताइन्छ ।

मस्कले सुस्त प्रगतिको आरोप लगाउँदै बर्खास्त गरेका स्टारलिंक व्यवस्थापकहरूलाई लिएर अमेजनले प्रोजेक्ट कुइपर थालेको थियो । तर, कुइपर अन्तरिक्षमा रकेट पठाउन अझै पनि पछि परिरहेको छ ।

तैपनि यसलाई प्रतिरक्षा प्रणालीमा उपयोग गर्न सकिने सम्भावना छ । क्षेप्यास्त्रलाई ट्य्राक गर्ने सञ्चारका लागि यसको उपयोग गर्न सकिन्छ । ट्रम्पको कर तथा खर्ब विधेयकले भूउपग्रह प्रणालीमा व्यापक लगानी गर्ने अनुमति दिएकोमा २५ अर्ब डलर बराबरको पहिलो किस्ता जारी गर्ने तयारी गरिरहेको छ ।

नोरथ्रोप ग्रुमान, लकहीड मार्टिन र एल३ह्यारिस लगायतका कम्पनीहरूले पनि गोल्डन डोम प्रतिरक्षा प्रणालीमा काम गर्नका लागि अमेरिकी अधिकारीहरूसँग कुराकानी गरिरहेका छन् ।