
एजेन्सी । अमेरिकी सरकारले पाकिस्तानी उग्रवादी समूह लश्कर–ए–तयबाको शाखा मानिने द रेसिस्टेन्स फ्रन्टलाई विदेशी आतंककारी संगठनको रूपमा सूचीबद्ध गरेको छ ।
यो निर्णय कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको इस्लामी उग्रवादी संगठनको आक्रमणपछि आएको हो । त्यस आक्रमणमा २६ जना मारिएका थिए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार यसको घोषणा गरेका हुन् ।
द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई कश्मीर रेसिस्टेन्स नामले पनि चिनिन्छ । यस समूहले पहिला उक्त आक्रमणको जिम्मेवारी लिएको थियो, तर केही दिनपछि त्यसलाई अस्वीकार गरेको थियो ।
लश्कर–ए–तयबालाई अमेरिकाले पहिलेदेखि नै आतंककारी समूह मानेको छ । त्यस समूहले भारत र पश्चिमी देशहरूमा हमला गर्ने योजना बनाएको आरोप लाग्दै आएको छ । विशेषगरी, सन् २००८ को नोभेम्बरमा मुम्बईमा तीन दिनसम्म भएको आतंककारी हमलामा पनि यस समूहको संलग्नता देखिएको थियो ।
पहलगाम आक्रमणका पीडितहरूको न्यायको मागलाई सम्बोधन गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले टीआरएफलाई आतंककारी संगठन घोषणा गरेको रुबियोले बताए । उनले टीआरएचलाई लश्कर–ए–तयबाको नक्कली आवरणको संज्ञा दिएका छन् ।
भारतस्थित एक अनुसन्धान संस्थान साउथ एसिया टेररिज्म पोर्टलका अनुसार पनि टीआरएच लश्कर–ए–तयबाको शाखा नै हो ।
भारतले अमेरिकाको यस कदमको स्वागत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले यसलाई भारत र अमेरिकाबीच आतंकवादविरुद्धको सहकार्यको मजबुत प्रमाण भनेका छन् ।
अप्रिलको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो । भारतले पाकिस्तानलाई दोष दिएको थियो भने पाकिस्तानले त्यसको अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गरेको थियो । अमेरिकाले आक्रमणको निन्दा गरे पनि पाकिस्तानलाई सिधै दोष दिएको थिएन ।
विदेशनीति सम्बन्धी अमेरिकी पत्रिका फरेन पोलिसीका विश्लेषक माइकल कुगलम्यानका अनुसार, टीआरएचलाई आतंककारी घोषणा गरेर वाशिङटनले भारत–पाकिस्तान युद्धका लागि त्यही समूह जिम्मेवार रहेको संकेत दिएको छ । लश्कर–ए–तयबासँग टीआरएचको सम्बन्ध रहेको भनी भारतले गरेको तर्कलाई अमेरिकाले सहमति जनाएको पनि उनले दाबी गरे ।
यो कदमले अमेरिका–भारत सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्नसक्ने पनि कुगेलम्यानले बताएका छन् ।
मे ७ मा भारतले सीमापार ‘आतंकवादी संरचना’ नष्ट गर्ने भन्दै आक्रमण गरेपछि दुई देशबीच लडाइँ सुरु भएको थियो । लडाकू विमान, मिसाइल, ड्रोन र तोपबाट आक्रमण भएको थियो । युद्धमा दर्जनौंको ज्यान गएको थियो । १ मेमा युद्धविराम भएको थियो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्तापछि युद्धविराम भएको दाबी गरे पनि भारतले त्यसमा असहमति जनाएको थियो ।
दिल्ली र इस्लामाबादले आपसी समस्याहरू बाह्य हस्तक्षेपविना समाधान गर्नुपर्छ भन्ने भारतको भनाइ छ ।
अहिले अमेरिकाको एसियामा चीनको प्रभाव घटाउने रणनीतिमा भारत महत्त्वपूर्ण साझेदार बन्दै गएको छ भने पाकिस्तान अमेरिकाको पुरानो साझेदार हो ।
भारत र पाकिस्तान दुवैले मुस्लिमबहुल कश्मीरलाई आफ्नो भूभाग मान्छन् । उनीहरूले यस विषयमा चारपटक युद्ध लडिसकेका छन् ।








प्रतिक्रिया