दिल्लीबाट मुम्बई जाँदै गरेको स्पाइसजेटमा यात्रुहरूको हंगामा, ककपिटमा पसे दुईजना (भिडियो)

3.3k
Shares

एजेन्सी । भारतको दिल्लीबाट मुम्बई जाँदै गरेको स्पाइसजेट विमानमा दुईजना यात्रु पाइलटको ककपिटमा पस्न खोजेर हंगामा मच्चाएका छन् ।

विमानभित्र गर्मी हुँदा एसी नचलेको भन्दै उनीहरू विमान उड्नै लागेको बेलामा ककपिटमा पसेका थिए ।

ती दुईजनालाई अन्य यात्रुले सीटमा बस्न भनेका थिए । ‘यसरी विमान रोक्न पाइँदैन, यो गैरकानूनी काम हो,’ एकजना यात्रुले भनेका थिए ।

‘एसी चलाइदे, हामी सीटमा बस्छौं,’ पछाडिबाट यात्रुले भनेको सुनिन्छ ।

त्यसपछि केही यात्रुले विमान कर्मचारीलाई सुरक्षाकर्मी बोलाउनू अनि हल्लाखल्ला गर्नेलाई विमानबाट निकाल्नू भन्छन् ।

फ्लाइटरेडार२४ का अनुसार, स्पाइसजेटको उडान नम्बर एस९२८२ सोमवार दिउँसो साढे १२ बजे उड्नुपर्ने थियो । तर, होहल्लाका कारण त्यो साँझ ७ः२१ मा मात्र उड्न पायो र ९ः०५ मा मुम्बईमा ओर्लियो ।

स्पाइसजेटले एउटा विज्ञप्ति जारी गरेर घटनाको पुष्टि गरेको छ । दुईजना यात्रुले विमान उड्ने बेलामा होहल्ला गरेर सीटमा बस्न नमानेपछि पाइलटले विमानलाई फर्काएको उसले जानकारी दियो । त्यसपछि सबै यात्रुहरूलाई ओरालिएको र दुईजनालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उसले जनायो ।

भारतमा अनियन्त्रित यात्रुहरूले विमान कम्पनी र कर्मचारीलाई सताउने गरेको घटनाहरू बढिरहेका छन् । सन् २०२३ मा न्युयोर्कबाट दिल्ली आइरहेको अमेरिकन एयरलाइन्सको उडानमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब फेरिदिएका थिए । ती यात्रुले मदिरा सेवन गरेका थिए । सन् २०२२ मा पनि अर्का एक यात्रुले अर्की महिला यात्रुमाथि पिसाब फेरेका थिए ।