
एजेन्सी । भारतमा मोटोपनको समस्याले विकराल रूप लिँदै गएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले समोसा र जेरी जस्ता तेलमा तारेका खानेकुरामा स्वास्थ्य चेतावनी सन्देश राख्न पसलहरूलाई निर्देशन दिएको छ ।
चुरोटको खोलमा धूम्रपानका कारण क्यान्सरको जोखिम हुन सक्ने भनी सन्देश दिए जस्तै समोसा पसलले पनि चेतावनी सन्देश राख्नुपर्ने भएको हो ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, समोसा जेरी पसलमा तेल र चिनीका कारण आउने स्वास्थ्य समस्याका विषयमा बोर्डहरू राख्नुपर्नेछ ।
उच्च क्यालोरी भएका, तेलमा बेस्सरी तारिएका र चिनी धेरै हालिएका खानेकुरालाई आधिकारिक रूपमा स्वास्थ्य चेतावनी सूचीमा राखिएको छ ।
भारतमा अस्वस्थकर खानेकुराका कारण रोगहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो । चिनी र तेलका कारण मोटोपन, मधुमेह, मुटुरोग लगायतका समस्या बढेका छन् ।
सन् २०५० सम्ममा ४५ करोड भारतीयहरू मोटोपनको सिकार हुने प्रक्षेपण गरिएको छ ।
समोसा र जेरीमा प्रतिबन्ध भने नलगाइएको सरकारले स्पष्ट पारेको छ । तर, तिनले निम्त्याउन सक्ने स्वास्थ्य समस्याका बारेमा सचेत गराउन खोजिएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फिट इन्डिया अभियान चलाएर खानेकुरामा तेलको प्रयोग १० प्रतिशतले घटाउन र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका छन् ।







प्रतिक्रिया