
एजेन्सी । भारतले ध्वनिको गतिभन्दा आठ गुणा बढी छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।
इकोनोमिक टाइम्सले दिएको समाचारअनुसार, एक्सटेन्डेड ट्राजेक्टोरी लङ ड्युरेशन हाइपरसोनिक मिसाइलले भारतसँग भएको ब्राह्मोस क्रुज क्षेप्यास्त्रभन्दा निकै द्रुत गतिमा टाढासम्म प्रहार गर्न सक्छ ।
डिफेन्स रिसर्च यान्ड डिभलपमेन्ट अर्गनाइजेशनले तयार पारेको यो क्षेप्यास्त्रलाई पाकिस्तानसँगको तनाव चर्किएको बेलामा परीक्षण गरिएको हो । टर्कीले पाकिस्तानसँग साझेदारी गरिरहेको अवस्थामा भारतले रक्षा आधुनिकीकरणलाई अघि बढाइरहेको छ । ब्राह्मोस, अग्नि–५ र आकाश क्षेप्यास्त्रभन्दा यो निकै स्तरीय हतियार हो ।
यस क्षेप्यास्त्रलाई स्क्रामजेट इन्जिनले शक्ति दिन्छ । परम्परागत चक्रीय कम्प्रेसर नभई वायुमण्डलमा भएको अक्सिजनमा निर्भर रहने एयर ब्रिदिङ प्रोपल्सनले त्यो इन्जिन चलाउँछ । त्यसले गर्दा यो क्षेप्यास्त्र ११ हजार किलोमिटर टाढासम्म पनि पुग्न सक्छ ।
यस क्षेप्यास्त्रले १ हजारदेखि २ हजार किलोसम्मको पेलोड बोक्न सक्छ र परम्परागत तथा आणविक दुवैथरी वारहेडमा यसलाई राख्न मिल्छ । तल्लो एल्टिच्युडमा उड्न सक्ने भएकाले यसलाई कुनै पनि रेडारले पत्ता लगाउन सक्दैन । यसले सटीक प्रहार गर्न सक्ने भएकाले कठिन भूभागमा रहेको शत्रुको महत्त्वपूर्ण पूर्वाधारलाई पनि यसले ध्वस्त बनाइदिन्छ ।
यो हाइपरसोनिक क्षेप्यास्त्रलाई स्थल, जल र आकाश सबैतिरबाट प्रहार गर्न सकिन्छ । उडानको बीचमै यसले बाटो बदल्न सक्ने भएकाले युद्धभूमिमा जस्तो परिस्थिति आउँदा पनि यसले प्रहार गर्न सक्छ ।
अत्यधिक तापलाई पनि व्यवस्थापन गर्न सक्ने गरी यो क्षेप्यास्त्र बनाइएको छ । उडिरहेको बेलामा यो तातेर २ हजार डिग्री सेल्सियस पुग्दा पनि यसमा समस्या आउँदैन । गति र सटीकताका लागि यो क्षमता अपरिहार्य हुन्छ ।
अहिले रुस, अमेरिका र चीनसँग मात्र युद्धमा प्रयोग गर्न मिल्ने हाइपरसोनिक क्रुज क्षेप्यास्त्र छ । भारतको परीक्षण सफल भएमा स्वदेशी प्रविधिबाट हाइपरसोनिक क्षेप्यास्त्र बनाउने देशहरूको सूचीमा दरिनेछ ।
पाकिस्तानलाई भारतमाथि आक्रमण गर्नबाट रोक्न र हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्न भारतले यो हाइपरसोनिक क्षेप्यास्त्र बनाएको हो ।








प्रतिक्रिया