
एजेन्सी । भारतीय सेनाले म्यान्मारमा रहेको असमी उग्रवादीहरूको शिविरमा आइतवार ड्रोन आक्रमण गरेको छ ।
फ्री प्रेस जर्नलले दिएको समाचारमा उल्लेख भएअनुसार, युनाइटेड लिबरेशन फ्रन्ट अफ असम–इन्डिपेन्डेन्ट (उल्फा–आई) का विद्रोहीहरू बस्ने शिविरमा आक्रमण गरिएको हो ।
आइतवार बिहानै गरिएको आक्रमणमा करिब १०० वटा ड्रोन प्रयोग गरिएको थियो । त्यस आक्रमणका कारण उग्रवादीहरूको चारवटा प्रमुख केन्द्रमा क्षति पुगेको छ ।
उल्फा–आईले भारतीय सेनाको आक्रमणबाट आफ्ना एक वरिष्ठ नेता मारिएको र १९ जना घाइते भएको जनाएको छ । मारिने व्यक्ति लेफ्टिनेन्ट जनरल नयन असोम भएको बताइन्छ । उनले महत्त्वपूर्ण लडाकू कारवाही गराउनुका साथै विद्रोही क्याडरलाई प्रशिक्षण पनि दिने गरेका थिए ।
भारतीय सेनाले यस ड्रोन कारवाहीको आधिकारिक पुष्टि गरेको छैन ।
म्यान्मारको सागाइङ क्षेत्रमा रहेको होयात बस्तीमा रहेको उल्फा–आईको पूर्वी कमान्ड हेडक्वार्टरलाई भारतीय सेनाले निशाना बनाएको बताइन्छ । सागाइङ उग्रवादी लडाकूहरूका लागि सुरक्षित आश्रयस्थल हो । पूर्वी कमान्डलाई छिन्नभिन्न बनाउनका लागि एकपछि अर्को ड्रोन आक्रमणहरू गरिएको बताइन्छ ।
यस सैन्य कारवाहीका लागि महिनौंदेखि तयारी गरिएको देखिएको छ । उग्रवादीहरूको विभिन्न शिविरलाई एकैपटक निशाना बनाएर उनीहरूलाई फेरि जुट्नबाट रोक्ने प्रयास गरिएको हो ।








प्रतिक्रिया