
एजेन्सी । भारतका विदेशमन्त्री एस जयशंकर आइतवार साँझ चीनको राजधानी बेइजिङ पुग्दैछन् । पाँच वर्षमा पहिलोपटक उनी चीन जान लागेका हुन् ।
भारत र चीनबीच सन् २०२० मा भएको हिंस्रक संघर्षपछि बिग्रिएको सम्बन्ध सुधार्नका लागि दुवै देशले प्रयास गरिरहेका छन् ।
यस भ्रमणमा जयशंकर सिंगापुर र चीन पुग्दैछन् । आज सिंगापुर भ्रमण सकेर उनी बेइजिङ पुग्न लागेका हुन् ।
चीनका विदेशमन्त्री वाङ यीसँग जयशंकरले सोमवार भेटघाट गर्नेछन् ।
यी दुईबीच गत फेब्रुअरी महिनामा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित जी२० बैठकको साइडलाइनमा भेटघाट भएको थियो । त्यहाँ दुवैजनाले पारस्परिक विश्वास र समर्थनको आह्वान गरेका थिए ।
जुलाई १५ मा चीनको थ्यानचिनमा हुने शाङ्हाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को विदेशमन्त्री स्तरीय बैठकमा पनि जयशंकरले सहभागिता जनाउनेछन् ।
यसअघि भारतका रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल एससीओ बैठकमा भाग लिन चीन गएका थिए ।
वाङ यीले अर्को महिना डोभाललाई भेट्नका लागि भारत भ्रमण गर्ने अपेक्षा छ । दुई देशबीच दशकौंदेखि रहेको सीमा विवाद अन्त्य गर्नका लागि विशेष प्रतिनिधि संयन्त्र अन्तर्गत संवाद हुने कार्यक्रम छ ।
भारत र चीनबीच कूटनीतिक वार्ता चलिरहेको भए पनि चीनले हालै गरेको व्यापार सम्बन्धी निर्णयले नयाँ दिल्लीको चिन्ता बढाएको छ । हालैका दिनमा चीनले दुर्लभ पदार्थ चुम्बक, मल र मुम्बई–अहमदाबाद बुलेट ट्रेन परियोजनाका लागि आवश्यक टनल खन्ने मशिनको निर्यात रोकेको छ ।
त्यसबाहेक भारत र पाकिस्तानबीत गत मे महिनामा भएको द्वन्द्वमा चीनले खुला रूपमा पाकिस्तानको समर्थन गरेकोले भारत रिसाएको छ । एससीओ बैठकमा रचनात्मक संवादलाई यी विषयहरूले ओझेलमा पार्ने सम्भावना छ ।
एससीओ १० वटा मुलुकहरूको समूह हो र यसले युरेसियाली क्षेत्रको सुरक्षामा छलफल गर्ने गरेको छ । यसमा भारत र चीनबाहेक रुस, पाकिस्तान, इरान लगायतका मुलुक छन् ।








प्रतिक्रिया