एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले जन्मायो थप प्रश्न


एजेन्सी । गत जुन महिनमा भारतको गुजरातमा भएको एयर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमाथि अनेकौं टिप्पणी भइरहेका छन् ।

प्रतिवेदनले विमान उड्नुभन्दा ठीक अघि इन्जिनको इन्धन नियन्त्रण गर्ने स्विचहरू कटअफ पोजिसनमा राखिएको उल्लेख गरेको छ । तर, यो कसरी भयो भन्ने विषयमा यसले सन्तोषदायक उत्तर दिएको छैन ।

विमान दुर्घटना छानबिन ब्यूरोको चलिआएको मापदण्ड अनुसार प्रारम्भिक प्रतिवेदनले कुनै विश्लेषण गर्र्दैन र निष्कर्ष पनि निकाल्दैन । यो कुरा अन्तिम प्रतिवेदनमा उल्लेख हुनेछ ।

दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डरमा सुनिएअनुसार, एक पाइलटले अर्कालाई किन इन्धन नियन्त्रण स्विचहरू बन्द गरेको भनी सोधेका थिए । अर्का पाइलटले बन्द नगरेको भनेका थिए । कुन पाइलटले के भनेको भनी प्रतिवेदनले स्पष्ट पारेको छैन ।

ती स्विचहरू भूलवश हुन सक्ने एक्टिभेसन रोक्नका लागि बनाइएका हुन्छन् । तिनीहरूलाई जानाजान उचालेर सार्नुपर्ने हुन्छ । विमान थतर्किएर त्यो आफ्नो पोजिसनबाट हट्ने गर्दैन ।

सन् १९८७ मा डेल्टा एयरलाइन्सको विमानमा पनि पाइलटहरूले झुक्केर दुवै स्विच चलाएका थिए । तर, उनीहरूले तत्कालै इन्जिन फेरि सुरु गरेर विमानलाई सुरक्षित अवतरण गराउन सफलता पाएका थिए ।

अमेरिकाको संघीय उड्डयन प्रशासनका पूर्व सुरक्षा निरीक्षक तथा ह्वाई प्लेन्स क्य्राश नामक पुस्तकका लेखक डेभिड सुसीले एयर इन्डियाको विमान दुर्घटना अभूतपूर्व भएको बताए । सबै पाइलटहरूलाई इन्जिन फेल भएको थाहा पाउने र चेकलिस्ट उपयोग गरेर त्यो इन्जिन बन्द गर्ने तालिम दिइएको हुन्छ ।

‘यस घटनामा दुवै कटअफहरू छिटोछिटो तानिएको थियो र त्यसक्रममा पाइलटहरूबीच संवाद नभएको र चेकलिस्टको पालन पनि नगरिएको देखियो,’ उनले भने, ‘यो चिन्ताको विषय हो ।’

दुवै इन्जिन बन्द भइसकेको वा तिनमा आगो लागिसकेको स्थितिमा मात्र यस्तो काम गर्न मिल्ने र यस घटनामा त्यस्तो केही पनि नभएको उनको भनाइ छ ।

इन्जिन बन्द गर्ने यस्तो काम पाइलट प्रशिक्षणको मापदण्ड अनुसार नभएको उनले बताए । कि त स्विचले के गर्छ भन्ने कुरा पाइलटलाई थाहा थिएन कि त यसमा विचारै नगरी पाइलटले स्विच ताने, उनी थप्छन् । दुवै स्थितिमा यो चिन्ताजनक विषय भएको उनको भनाइ छ ।