ताइवानका लागि युद्ध लड्न अमेरिकाले जापान र अस्ट्रेलियालाई गर्‍यो आग्रह

2.2k
Shares

एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालयले जापान र अस्ट्रेलियालाई ताइवानका विषयमा अमेरिका र चीनबीच युद्ध भएमा उनीहरूको भूमिका स्पष्ट पार्न आग्रह गरेको छ ।

फाइनान्सियल टाइम्सले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, अमेरिकी रक्षा नीति उपसचिव एल्ब्रिज कोल्बीले यस विषयमा कुरा अघि बढाइरहेका छन् । उनले जापान र अस्ट्रेलियाका रक्षा अधिकारीहरूसँग कुरा गरिरहेको स्रोतहरूलाई उल्लेख गर्दै टाइमसले खबर दिएको हो ।

कोल्बीको यो आग्रहले टोक्यो र क्यानबेरा दुवैलाई चकित तुल्याएको छ किनकि अमेरिका आफैंले ताइवानलाई प्रतिरक्षा गर्ने हो कि हैन भनी स्पष्ट पारेको छैन । ताइवानका विषयमा अमेरिकाले स्ट्राटेजिक एम्बिग्विटी अपनाइरहेको छ । कोल्बीले चीनसँगको युद्धमा अमेरिकालाई साथ दिन अप्रत्यक्ष रूपमा आग्रह गरेको साझेदारहरूले बुझेका छन् ।

कोल्बीले एक्समा पोस्ट गर्दै रक्षा मन्त्रालय राष्ट्रपति डोनल्ड ट्रम्पको पहिले अमेरिका एजेन्डालाई कार्यान्वयन गर्नका लागि तत्पर रहेको बताए । अमेरिकाको निवारक शक्ति स्थापित गर्न र शक्तिमार्फत शान्ति हासिल गर्न चाहेको उनको भनाइ छ ।

त्यसक्रममा अमेरिकाका साझेदारहरूले आफ्नो रक्षा खर्च बढाउनुपर्ने र सामूहिक प्रतिरक्षाका अन्य प्रयास गर्नुपर्ने पनि उनले बताए ।

ताइवानसँग अमेरिकाले औपचारिक कूटनीतिक सम्बन्ध कायम नगरेको भए पनि उसलाई हातहतियार आपूर्ति गर्दै आएको छ ।

चीनले ताइवानमाथि सार्वभौमसत्ताको दाबी पेश गर्दै सैन्य दबाब बढाएको छ । उसले ताइवान जलमार्गमा युद्ध अभ्यासहरू गरिरहेको छ ।

ट्रम्पको पहिलो कार्यकालमा कोल्बी रक्षा सहायक थिए । अमेरिकाले मध्यपूर्व र युरोपबाट ध्यान हटाएर चीनसँगको प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने भनी कोल्बीले तर्क गर्दै आएका छन् ।