
एजेन्सी । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अपरेशन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानका नौवटा आतंकवादी ठेगानाहरूमा सटीक आक्रमण गरेको दाबी गरेका छन् ।
यो सैन्य कारवाही जम्मा २३ मिनेट चलेको उनको भनाइ छ ।
आईआईटी मद्रासको ६२औं कन्भोकेशनमा शुक्रवार सम्बोधन गर्दै डोभालले यो कुरा बताएका हुन् ।
‘हामीले स्थानीय प्रविधिलाई विकसित गर्नुपर्छ । अहिले यहाँ सिन्दूरको उल्लेख गरियो । त्यस सैन्य कारवाहीमा स्थानीय प्रविधि उपयोग गरिएकोमा हामीलाई गौरव छ । हामीले पाकिस्तानभरि रहेका ९ वटा आतंकवादी ठेगानाहरूलाई लक्षित गरेका थियौं ।
ती सीमा क्षेत्रमा थिएनन् । हामी कुनै पनि लक्ष्यबाट चुकेनौं । आतंकवादी ठेगानाबाहेक हामील अरू केहीलाई पनि तारो बनाएनौं,’ डोभालले बताए ।
अपरेशन सिन्दूरका विषयमा विदेशी सञ्चारमाध्यमको सामग्रीलाई डोभालले आलोचना गरे । पाकिस्तानले भारतको कुनै पनि स्थानमा क्षति पु¥याएको भए त्यसको दृश्य प्रमाण प्रस्तुत गर्न उनले चुनौती दिए ।
‘पाकिस्तानले यसो वा उसो गरेको विदेशी प्रेसले लेख्यो । भारतमा क्षति पुगेको त के झ्यालको सिसा चर्किएको मात्र एउटा तस्बिर वा भिडियो भए पनि मलाई देखाउनुस्,’ डोभालले भने ।
भारतले गत मे ७ मा अपरेशन सिन्दूर आरम्भ गरेको थियो । त्यस अवसरमा सेनाले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका नौवटा आतंकवादी शिविरमा आक्रमण गरी १०० भन्दा बढी आतंकवादीहरूको सफाया गरेको थियो ।
उक्त कारवाहीपछि चार दिनसम्म ड्रोन, क्षेप्यास्त्र र लामो दूरीका हतियारले आक्रमण र प्रत्याक्रमण भएका थिए । मे १० मा दुवै देशले सबै सैन्य कारवाही रोक्ने निर्णय लिएका थिए ।
अप्रिल २२ मा भारतको पहलगाममा आतंकवादीहरूले आक्रमण गरी २६ जनाको हत्या गरेपछि भारतले अपरेशन सिन्दूर चलाएको थियो ।








प्रतिक्रिया