क्यानडामा आकाशमै जुधे २ विमान, दुवै चालकको मृत्यु

385
Shares

एजेन्सी । क्यानडाको मानितोबामा मंगलवार दुईवटा साना विमान आकाशमै ठोकिँदा दुईजना पाइलटको मृत्यु भएको सीबीएस न्युजले समाचार दिएको छ ।

ती दुई विमानचालकहरूले उडान र अवतरणको प्रशिक्षण लिइरहेका थिए । प्रशिक्षणका लागि सिंगल इन्जिन भएको सेस्ना विमान उपयोग गरिएको थियो ।

हार्भ्स एयर पाइलट ट्रेनिङ स्कूलका अध्यक्ष एडम पेनरले ती दुवै विमान एकैपटक अवतरण गर्न खोज्दा धावनमार्ग नजिकै आकाशमा ठोकिएको बताए ।

ती विमानहरूमा सञ्चारका लागि रेडियो भए पनि प्रशिक्षार्थी चालकहरूले एकअर्कालाई नदेखेको हुन सक्ने पेनरको भनाइ छ ।

दुवै चालकहरूको घटनास्थलमै मृत्यु भएको थियो । विमानमा यात्रुहरू थिएनन् ।

भारतको कोचीका श्रीहरि सुकेशको दुर्घटनामा मृत्यु भएको छ । विमानको भग्नावशेषबाट उनको शरीर निकालिएको छ ।

अर्की विमानचालक सभान्ना मे रोयेस थिइन् । उनका पिता पनि विमानचालक हुन् ।

मानितोबा राज्यको राजधानी विनिपेगबाट घटनास्थल रहेको स्टाइनबाख ६७ किलोमिटर पर छ ।