
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्राजिलबाट आयात गरिने सबै वस्तुमा ५० प्रतिशत भन्सार दरको घोषणा गरेका छन् ।
ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधका लागि दुःख दिने काम भइरहेको भन्दै उनले चर्को भन्सार लगाएका हुन् ।
ट्रम्पले ब्राजिलका बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा पत्र लेखेर यसको जानकारी दिएका हुन् ।
उनको यस कदमले ब्राजिलको आन्तरिक न्यायिक मामिलामा सिधै हस्तक्षेप गरेको छ र दुई देशबीचको तनाव चर्काएको छ ।
लुला सरकारले बोल्जोनारोलाई अनावश्यक दुःख दिइरहेको र उनको स्वतन्त्र अभिव्यक्तिको अधिकार उल्लंघन गरिरहेको ट्रम्पले आरोप लगाए ।
‘स्वतन्त्र निर्वाचनमाथि र अमेरिकीहरूको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई ब्राजिलले आक्रमण गरिरहेकाले म अमेरिका आयात हुने सबै सामानमा थप ५० प्रतिशत आयातकर लगाउँदैछु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखे ।
अगस्ट १ देखि नयाँ भन्सार दर लागू हुनेछ । यो दर अझै पनि कम भएको भन्दै ट्रम्पले थप कठोर हुने संकेत दिएका छन् ।
राष्ट्रपति लुलाले ट्रम्पका दाबीहरूलाई खारेज गर्दै उनले अधिकारबाहिरको काम गरिरहेको आरोप लगाए । यो अत्याचारी कदम भएको बताउँदै उनले ब्राजिल स्वतन्त्र संस्थाहरू सहितको सार्वभौम मुलुक भएकाले अरू कसैबाट निर्देशन नलिने भनाइ राखे ।
ब्राजिलले बुधवार अमेरिकी राजदूत गेब्रियल एस्कोबारलाई दुईपटक बोलाएर अमेरिकाविरुद्ध पनि आयातकर लगाइने जनाएको छ ।
सन् २०२२ मा भएको राष्ट्रपति निर्वाचनमा लुलाले बोल्जोनारोलाई झिनो अन्तरले हराएका थिए । उनले हार स्वीकार गर्न पनि मानेका थिएनन् । सन् २०२३ कोे जनवरी महिनामा बोल्जोनारोका समर्थकहरूले प्रमुख सरकारी भवनहरूमा आक्रमण गरी कू प्रयास गरेका थिए ।
अभियोजनकर्ताहरूले बोल्जोनारोमाथि राज्य कब्जाको षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले उच्च न्यायाधीशहरूलाई पक्राउ गर्ने र लुलालाई विष खुवाउने विषयमा चर्चा गरेको आरोप पनि छ । बोल्जोनारो सहित ३४ जनालाई सन् २०२५ फेब्रुअरीमा अभियोग लगाइएको थियो र ब्राजिलको सर्वोच्च अदालतमा उनीहरूको पुर्पक्ष चलिरहेको छ ।
बोल्जोनारो आफू निर्दोष रहेको बताउँछन् । बुधवार उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे, ‘जनतामाझ लोकप्रिय भएकाले जाइर बोल्जोनारोलाई लखेटिन्छ । त्यसैले उनीहरू उसलाई राजनीतिक, नैतिक र न्यायिक रूपमा सिध्याउन चाहन्छन् ।’
ट्रम्पले आफू पनि कानूनी झमेलामा फसेको कुरालाई सम्झदै बोल्जोनारोको भनाइलाई रिपोस्ट गर्दै लेखे, ‘ब्राजिलका महान् पूर्व राष्ट्रपतिलाई छोडिदेओ ।’ बोल्जोनारो ट्रम्पका कट्टर समर्थक हुन् ।
ट्रम्पले अमेरिका र ब्राजिलको व्यापार सम्बन्ध न्यायपूर्ण नभएको भनी दाबी गरे पनि तथ्यांकले अर्कै कथा भन्छ । सन् २०२४ मा अमेरिकाले ब्राजिलसँग ७.४ अर्ब डलर बराबरको व्यापार नाफा गरेको अमेरिकी व्यापार कार्यालयको आँकडाले देखाउँछ ।
ट्रम्पले लुलालाई लेखेको पत्रमा अमेरिकी प्रविधि कम्पनीहरूमा बन्देज लगाएको आरोप पनि लगाएका छन् । ब्राजिलको डिजिटल नियमावलिहरूमा नयाँ अनुसन्धान गर्न उनले आदेश दिएका छन् ।
ट्रम्पको मिडिया कम्पनीले गत फेब्रुअरी महिनामा ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोराएसविरुद्ध मुद्दा दायर गरेको छ । उनले नै बोल्जोनारोको मुद्दा हेरिरहेका छन् ।








प्रतिक्रिया