तथ्यांकमा सुध्रियो अर्थतन्त्र

161
Shares


काठमाडौं । मुलुकको अर्थतन्त्र तथ्यांकमा सुधारउन्मुख देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा तथ्यांकमा अधिकांश क्षेत्रमा सुधार भएको देखिएको हो ।

सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने गत वर्षसम्मको दायित्व पूरा गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्षको दायित्व ३० अर्ब रुपैयाँ भुक्तानी भएसँगै निर्माण व्यवसायीको माग सम्बोधन भएको छ ।

आर्थि वृद्धिदर गत वर्ष ३.८७ प्रतिशत रहेकोमा राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आवमा ४.६१ प्रतिशतको प्रक्षेपण भएको छ ।

अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको छ । गत वर्ष ५७ खर्ब रुपैयाँको अर्थतन्त्रको आधार बढेर चालु आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक भइसकेको छ ।

सरकारको राजस्वमा १ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि भएको छ । चालु आवको असार २६ सम्ममा १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो राजस्व संकलन गत वर्षको सोही अवधिमा ९ खर्ब ८९ अर्ब रुपैयाँ मात्रै थियो ।

चालु आर्थिक वर्षको असार २६ सम्ममा सरकारको पुँजीगत खर्चमा पनि वृद्धि भएको छ । यो अवधिमा २ खर्ब ८ अर्ब रुपैयाँ खर्च गरेको सरकारले गत वर्षको यही अवधिको तुलनामा ३६ अर्ब बढी खर्च गरेको हो । गत वर्षको यही अवधिसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको तथ्यांक छ ।

पुँजी बजारमासमेत गत वर्षको तुलनामा यो वर्ष सुधार आएधार छ । यो वर्ष असार २५ मा नेप्से परिसूचक २७०५ विन्दुमा पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा नेप्से परिसूचक २१ सय बिन्दूमा सीमित भएको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा चालु आवको असार २५ सम्ममा बढेको छ । जेठसम्ममा निजी क्षेत्रमा प्रवाहित हुने कर्जा ८.७ प्रतिशतले बेढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा प्रवाह ५.६ प्रतिशत भएको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा नेपालले डलर आम्दानी गर्ने सबैभन्दा बलियो माध्यम बनेको रेमिट्यान्स आयमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा रेमिट्यान्स आय १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । यस्तो रेमिट्यान्स आय १५.५ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष २०८१ को जेठसम्मको यस्तो आय १३ खर्ब २७ अर्ब रुपैयाँ थियो ।

नेपालबाट हुने निर्यातमा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदा गत वर्षको सोही अवधिको तुलनामा ७७.८ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष २०८१ को जेठसम्मको निर्यात १ खर्ब ३९ अर्ब रुपैयाँ मात्रै थियो ।

अर्थतन्त्र चलायमान बनाउन नेपालमा भित्रने वस्तु तथा सेवाको आयातसमेत बढेको छ । २०८२ जेठ १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात भएको छ । यस्तो आयात गत वर्ष १४ खर्ब ५३ अर्ब रुपैयाँको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको अवस्था देखाउने शोधान्तर स्थितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्यांक अनुसार शोधान्तर बचत ४ खर्ब ९१ अर्ब रुपैयाँ छ । गत वर्ष ४ खर्ब २५ अर्ब रुपैयाँ शोधान्तर बचत थियो ।

तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति पनि बढेको छ । चालु आवेको जेठसम्ममा १८ करोड ६५ करोड अमेरिकी डलर संचित रहेको छ । राष्ट्र बैंकसँग गत वर्षको जेठसम्ममा यस्तो विदेशी मुद्रा संचित १४ अर्ब ७२ करोड थियो ।

वैदेशिक सहायता प्रतिवद्धतामा पनि चालु आर्थिकमा वृद्धि भएको छ । यो अवधिमा १ खर्ब १९ अर्ब रुपैयाँले वैदेशिक सहायता बढेको छ । यो वर्ष कूल २ खर्ब १९ अर्बको प्रतिवद्धता आएको छ । गत वर्षको चैतसम्ममा १ खर्ब २ अर्ब रुपैयाँ यस्तो वैदेशिक सहायता प्रतिबद्धता आएको थियो ।

महंगीको दर मापन हुने मुद्रास्फीति जेठमा ४.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको जेठसम्ममा चालु खाता ३ अर्ब ७ अर्बले बचतमा रहेको देखाएको छ । यस्तो बचत २०८२ गत वर्ष २ खर्ब ३९ करोड रुपैयाँले बचतमा थियो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा वाणिज्य बैंकहरुको ब्याजदर ६.०९ प्रतिशत (औषत आधार दर)मा रहेको थियो भने यस्तो दर गत वर्ष ८.१७प्रतिशत औषत आधार दरमा थियो ।

चालू आर्थिक वर्षको जेठसम्ममा मुलकुको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता १४ महिनाको छ भने यस्तो क्षमता गत वर्षको सोही अवधिमा १२ महिनाको मात्रै थियो ।

यसका साथै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक छन् । यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बिमा, उद्योग, घर जग्गा,सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा र आवास तथा भोजन क्षेत्रमा सकारात्मक वृद्धि भएको छ ।