
एजेन्सी । थाइल्यान्ड सरकारले गाँजासेवन सम्बन्धी नियममा कडाइ गरेपछि त्यहाँको १ अर्ब डलरको उद्योग धरापमा परेको छ ।
सन् २०२२ मा थाइल्यान्डले रमाइलोका लागि गरिने गाँजासेवनमाथिको प्रतिबन्ध फुकाएको थियो । तर, अहिले आएर त्यसमा पुनः प्रतिबन्ध लगाइएको छ ।
नयाँ नियमअनुसार, औषधीय प्रयोजनका लागि मात्र गाँजा लिन पाइनेछ ।
तीन वर्षअघि गाँजालाई वैध बनाइएपछि थाइल्यान्डभरि हजारौं गाँजा पसलहरू खुलेका थिए । रमाइलोका लागि गाँजा खान संसारभरिका मानिस थाइल्यान्ड पुग्ने गरेका थिए ।
नयाँ नियमले गर्दा १ अर्ब डलर बराबरको गाँजा उद्योग धरापमा परेको छ । गाँजा पसलहरूले नयाँ नियम पालन गर्ने गरी पुनः संरचना गर्न थालेका छन् । धेरै पसलहरू बन्द हुने स्थितिमा छन् ।
अब गाँजा किन्नका लागि चिकित्सकको प्रिस्क्रिप्शन अनिवार्य हुनेछ ।
नयाँ नियमलाई कसरी कार्यान्वयन गरिनेछ र प्रिस्क्रिप्शन जारी गर्नका लागि कस्ता निर्देशिकाहरू बनाइनेछन् भन्ने स्पष्ट भइसकेको छैन । अहिलेका गाँजापसलहरूलाई क्लिनिक भनेर दर्ता गराउनुपर्ने हुन सक्छ ।
भुमजाइथाई पार्टीले गाँजालाई वैध बनाउनका लागि अभियान चलाएको थियो । त्यो दल गठबन्धन सरकारबाट बाहिरिएपछि नयाँ नियम ल्याइएको हो । प्रधानमन्त्री पेतोङतार्न शिनावात्राले कम्बोडियासँगको सीमाविवादलाई राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै भुमजाइथाई पार्टी सरकारबाट बाहिरिएको हो ।
सार्वजनिक सुरक्षाका लागि र युवा तथा बालबालिकालाई संरक्षण गर्नका लागि नयाँ नियम ल्याइएको स्वास्थ्यमन्त्री सोमसाक थेपसुतिनले बताए ।
तर, यो विषय राजनीतीकरण गरिएको र नयाँ नियमले चिकित्सक भर्ती गर्न नसक्ने साना व्यवसायीहरूलाई मर्का पार्ने गाँजापसलेहरू बताउँछन् ।
थाइल्यान्डले लामो समयदेखि लागूऔषधविरुद्ध कठोर अडान लिँदै आएको छ । तर, ३ वर्षअघि गाँजासेवनमाथिको प्रतिबन्ध फुकुवा गरिएपछि गाँजा सम्बन्धी कसूरमा जेल परेका हजारौं मानिसलाई रिहा गरिएको थियो । प्रतिबन्ध फुकुवाले नयाँ आर्थिक अवसर सिर्जना गर्ने राजनीतिकर्मीहरूले बताएका थिए ।
तर, हतारहतार गरेर प्रतिबन्ध फुकुवा सम्बन्धी नियम ल्याइएको भनी त्यतिखेर आलोचना गरिएको थियो । त्यो कानून पारित बनेपछि विद्यालयमा गाँजा प्रतिबन्ध, २० वर्षभन्दा मुनिका व्यक्ति र गर्भवती महिलालाई गाँजा बेच्न नपाइने लगायतका नियमहरू ल्याइएका थिए ।
प्रतिबन्ध फुकुवापछि गाँजापसलहरू व्यापक रूपमा खुले । गाँजा तस्करीको समस्या पनि बढ्न थाल्यो । त्यसले गर्दा सर्वसाधारणले असहज अनुभव गर्न थाले ।
अहिले मनोरञ्जनका लागि गाँजा सेवनमा पुनः प्रतिबन्ध लगाइएपछि भने पसलहरू बन्द हुन सक्ने स्थिति आएको छ ।








प्रतिक्रिया