ओभर इन्स्योरेन्सको फन्दाः बुझाइको कमजोरी कि नियमनमा त्रुटि ?

287
Shares

काठमाडौं । नेपाली बिमा बजारमा प्रायः देखिने समस्या हो-अन्डर इन्स्योरेन्स, तर बेला–बेलामा यसको उल्टो अर्थात् ‘ओभर इन्स्योरेन्स’ पनि देखिने गरेको छ । अन्डर इन्स्योरेन्स निकै ठूलो मात्रामा हुने गरे पनि ओभर इन्स्यारेन्स भने तुलनात्मकरुपमा कम हुने गर्दछ । कम मात्रामा भए पनि यसले बिमित र बिमकमा अन्यौलको स्थिति सिर्जना गर्ने गर्द छ ।

खासगरी, बुझाइको कमीले तथा केहीले टाठोबाठो बनेर हुने ओभर इन्स्यारेन्सका घटनाले बिमा कम्पनीमाथि नै एक किसिमको दबाब सिर्जना गर्ने गर्दछ । ओभर इन्स्योरेन्स भन्नाले बिमाले प्रदान गर्ने कभरेज रकम बिमितको सम्पत्तिको वास्तविक मूल्यभन्दा बढी हुनु हो ।

अर्थात्, कुनै बिमितको घरको मूल्य ५० लाख रुपैयाँ छ तर, उसले ७५ लाखको बिमा गर्‍यो भने त्यो ओभर इन्स्योरेन्स हुन्छ । यदि, यस्तो बिमा गरिएको घरमा आगलागी वा क्षति भयो भने बिमा कम्पनीले अधिकतम ५० लाखसम्मको मूल्यांकनका आधारमा मात्रै भुक्तानी गर्दछ, ७५ लाखको मूल्यांकनको आधारमा भुक्तानी गर्दैन ।

टाठोबाठो बनेर तथा बुझाइको कमीका कारण हुने ओभर इन्स्योरेन्सले बिमा बजारमा नै नकारात्मक प्रभाव पुर्‍याउँछ । ओभर इन्स्योरेन्समा आफ्नो सम्पत्तिको भन्दा बढी मूल्यको बिमा गरिने हुँदा बढी बिमाशुल्क तिर्नुपर्ने हुन्छ । बिमितले अनावश्यक रूपमा बढी प्रिमियम तिर्दा त्यसको कुनै प्रकारको लाभ प्राप्त हुँदैन । बरु, यस्तो अवस्थामा बिमितले अधिक प्रिमियम तिर्नुपर्ने हुन्छ र ऊ माथि अनावश्यक दायित्वसमेत थपिन्छ ।

दुर्घटना वा क्षतिमा बिमा कम्पनीले क्षतिको वास्तविक मूल्यभन्दा बढी रकम नदिएपछि सम्पत्तिभन्दा बढीको बिमा गराउनु उचित होइन । यद्यपि, यस्तो किसिमको ओभर इन्स्योरेन्सको समस्या देखिरहने बिमकहरु बताउँछन् ।

नेपाल बिमक संघको निवर्तमान अध्यक्षसमेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बुझाइको कमीका कारण बढी मात्रामा ओभर इन्स्योरेन्स हुने गरेको बताउँछन् ।

घरको बिमा गर्दा जग्गाको मूल्यसमेत जोडने र पछि भुक्तानीका बेला कम भुक्तानी प्राप्त भएको गुनासो आउने गरेको उनी सुनाउँछन् । ‘घरको बिमा गर्दा त्यसको आकार, सामाग्री जस्ता कुराहरु हेरेर गर्नुपर्ने हुन्छ । तर, बिमा गर्दा जग्गाको मूल्यसमेत जोडर बिमा गरेको पनि भेटिन्छ,’ क्षेत्री भन्छन्, ‘यस्तो हुँदा बिमितले भुक्तानी कम प्राप्त भएको कुरा गर्छन् । तर, वास्तवमा बिमाले क्षेति भएको घरको मात्रै भुक्तानी गर्ने भएकाले जग्गाको समेत मूल्य जोडेर बिमा गर्दा समस्या देखा पर्दछ ।’

ओभर इन्स्योरेन्स हुन नदिन अर्थात् सम्पत्ति बराबरको बिमा गराउन बिमा अभिकर्ताको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । अभिकर्ताले कति प्रिमियम तिर्दा कति दाबी भुक्तानी पाइन्छ भन्ने कुरा बिमितलाई बुझाएर बिमा गर्दा यस्तो समस्या देखिँदैन थियो । यसमा कम्पनीहरुले बिमा अभिकर्तालाई सोहीअनुसार ‘ट्रेन्ड’ गर्न नसकेको पनि देखिन्छ

उनले भूकम्पको बेलामा क्षेति पुगेको घरको बिमा दाबी भुक्तानी गर्दा यस्तो समस्या देखिएको सुनाए । केही बिमितले घरको मूल्य बराबरकोभन्दा पनि जग्गाको मूल्यसमेत जोडेर बिमा गरेका थिए । तर, बिमा कम्पनीले भने घरको मात्रै मूल्यांकन गरेर दाबी भुक्तानी गरे । बिमाशुल्क बढी तिरेकाले बिमितले बढी क्षेतिपूर्ति खोज्नु स्वभाविक हो । यद्यपि, कानुनी रुपमा भने क्षेति पुगे बराबरको मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

यसै पनि, जग्गामा क्षति नपुग्ने भएकाले त्यसको मूल्य जोडेर बिमा गर्ने विषय उचित होइन । भूकम्पले क्षति पुराएको बेला भने बिमाशुल्क बढी तिर्दा पनि भुक्तानी कम भएको गुनासो आएको सीईओ क्षेत्रीको भनाइ छ । यसका अलावा, अन्य निर्जीवन बिमा व्यवसायमा पनि यस्तो अवस्था आउने गरेको देखिन्छ ।

बिमामा अधिकांश बिमितले आफूले बिमा गरेको सम्पत्तिमा क्षति पुगेजतिको सबै रकम बिमा कम्पनीले बेहोरोस्, क्षति बराबरको रकम आफूले पाइयोस् भन्ने नै हुन्छ । सामान्यतः बिमा गरेर पनि क्षतिपूर्ति बराबरको पूरै भुक्तानी पाइएन वा जति सम्पत्तिमा क्षति भयो त्यो सबैको भरण बिमा कम्पनीले गरेन भन्ने गुनासो बढेर जाने गर्दछ ।

बिमा सर्भेयर संघ, नेपाल (निसा)का अध्यक्ष मोहनपुरुष ढकाल ओभर इन्स्योरेन्स समस्या समाधान गर्न बिमा कम्पनी, नियामक र सबैको भूमिका आवश्यक पर्ने बताउँछन् ।

‘व्यक्तिले बिमा गर्दा आफ्नो सम्पत्ति भन्दा बढीको गरेको हुन्छ भने बिमाशुल्क पनि बढी तिरेको हुन्छ । तर, क्षति हुँदा सम्पत्तिको मूल्यको आधारमा मात्रै भुक्तानी पाउँछ,’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा कम भुक्तानी गरेको भन्दै बिमा क्षेत्र बदनाम हुने गर्दछ।’

उनले बिमितिले ओभर इन्स्योरेन्स गरेपनि भुक्तानीको समयमा भने सर्भेयर बिमकसँग मिलेको, बिमा कम्पनीले कमाउन मात्रै खोजेको, सर्भेयरले बिमा कम्पनीबाट कमिसन खानलाई सम्पत्तिको मूल्यांकन कम गरेको जस्ता आरोप लाग्ने गरेको सुनाए । यसले बिमा कम्पनी, सर्भेयर, नियामक तथा समग्र बिमा क्षेत्रमाथि नै प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

ओभर इन्स्योरेन्स हुन नदिन अर्थात् सम्पत्ति बराबरको बिमा गराउन बिमा अभिकर्ताको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । अभिकर्ताले कति प्रिमियम तिर्दा कति दाबी भुक्तानी पाइन्छ भन्ने कुरा बिमितलाई बुझाएर बिमा गर्दा यस्तो समस्या देखिँदैन थियो । यसमा कम्पनीहरुले बिमा अभिकर्तालाई सोहीअनुसार ‘ट्रेन्ड’ गर्न नसकेको पनि देखिन्छ ।

बिमा विज्ञ रविन्द्र घिमिरे अन्डर इन्स्योरेन्स र ओभर इन्स्योरेन्स दुवै बिमा बजारका लागि घातक भएको बताउँछन् । ‘नेपालमा अन्डर इन्स्योरेन्सको समस्या ठुलो मात्रामा हुने गरेको पाइन्छ भने टाठाबाठाले ओभर इन्स्योरेन्स पनि गर्ने गरेका छन्,’ घिमिरे भन्छन्, ‘बिमाका लागि ओभर इन्स्योरेन्स र अन्डर इन्स्योरेन्स दुवै घातक छ ।’

उनका अनुसार हाम्रोमा गोदाममा एक करोडको सामग्री छ भने पाँच करोडको बिमा गर्ने काम गरिन्छ । तर, केही समयमा आगलागी भयो भनेर बिमा दाबी भुक्तानी माग गर्न जाँदा त्यहाँ भएको एक करोडको मूल्यांकनको आधारमा मात्रै भुक्रानी हुन्छ । बिमितिले भने पाँच करोडको बिमा गरेकाले सोही अनुसारको भुक्तानी खोज्छ जुन दिन मिल्दैन । यो अवस्थाले बिमित र बिमकबीचमा समस्या पैदा हुने गर्दछ ।

घिमिरेले यो किसिमले हुने ओभर इन्स्योरेन्सलाई निस्तेज पार्न आवश्यक भएको बताए । हुन, त सम्पत्ति बिमा सम्बन्धी निर्देशिका, २०८० मा बिमा गर्नका लागि बिमा गरिने सम्पत्तिको बिमांक कामय गर्दा सम्पत्ति रहेको जमिनको मूल्यांकन गर्न नपाइने भनिएको छ । यसको बुझाई कम हुँदा पनि जमिनको समेत मूल्यांकन जोडेर बिमा हुने गरेको पाइन्छ ।

साथै, निर्देशिकाले अभौतिक सम्पत्ति सम्बन्धी उद्योग वा व्यवासाय रहेको भवन परिसर वा सम्पत्तिको बिमा गर्न बाधा पुग्ने छैन भनेर उल्लेख गरेको छ । वास्तवमा ओभर इन्स्योरेन्स बिमितका लागि लाभदायक हुँदैन भने बिमा कम्पनीका लागि सुरक्षित मानिँदैन । यो किसिमको प्रवृत्ति कायम रहेमा यसले बिमा प्रणालीमा अविश्वास र अनावश्यक विवादको स्थिति भने सिर्जना गर्न सक्ने देखिन्छ ।

ओभर इन्स्योरेन्स हुँदा बिमितले बढी भुक्तानीको अपेक्षा राख्ने, कम्पनीले कम क्षतिपूर्ति दिएको भन्दै असन्तुष्टि पैदा हुने हुन्छ । ओभर इन्स्योरेन्सको समस्यालाई नियन्त्रण गर्न बिमा शिक्षा, पारदर्शिता र जिम्मेवार अभिकर्ता प्रणाली आवश्यक देखिन्छ । अन्यथा, यसले बिमा बजारप्रति नकारात्मकता फैलाउने काम गर्दछ ।

यसर्थ, बिमा गर्दा सम्पत्तिको मूल्य यथार्थ रूपमा मूल्यांकन गरी उपयुक्त रकमको बिमा गरिनु उचित हुने बिमकहरुको भनाइ छ। ओभर इन्स्योरेन्समा बिमितले अनावश्यक रूपले बढी प्रिमियम तिर्नुपर्ने हुनाले यसमा ध्यान पुर्‍याउनुपर्ने विषय पनि उठ्दै आएको छ ।

सम्पति बिमा निर्देशन, २०८० मा बिमकले बिमांक रकम भन्दा बढी हुने गरी दाबी भुक्तानी गर्ने छैन भनिएको छ ।
यस बिमालेखको अपवादमा उल्लेख गरिए बाहेकको कुनै घटना घटी बिमा गरिएको सम्पत्तिको क्षति भएमा बिमितले बिमा गरिएको सम्पत्तिको क्षति न्यूनीकरणको लागि प्रयास गर्ने, आगलागी, हुलदंगा तथा आतंकबाद जोखिम समूह वा आपराधिक कारणबाट क्षति भएमा वा त्यसरी क्षति भएको हो भनी शंका लागेमा प्रहरी कार्यालयमा खबर गर्ने भनिएको छ ।