बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलद्वारा सुझाव माग


काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ सम्ममा कार्यदलको इमेलमा सुझाव उपलब्ध गराउन भनेको छ ।

बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।

यस्तै, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा सुझाव उपलब्ध गराउन भनिएको छ ।