महाप्रसादको हस्ताक्षर भएको १० रुपैयाँ नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट २०८२ असार २ गतेदेखि प्रचलनमा ल्याएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सोमबार एक सूचना प्रकाशन गर्दै साविककै आकार र रङमा संकेत नम्बर ‘द३२’ ०००००१ देखि ‘प९४’९९९९९९ को नयाँ नोट प्रचलनमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित उक्त नोट प्रचलनमा ल्याएको जनाएको छ ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र रहेको भने र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको पृष्ठ भागतर्फ मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । मध्य भागमा कृष्णसारको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज टेन’ र तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर २०२४ ए.डी लेखिएको छ ।

यस अघि २०७७ साल मंसिर १० गतेदेखि १० रुपैंया सिरिज २०२० को बैंकनोट संकेत नं. ‘ढ८२’ ०००००१ देखि ‘द४५’ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित भएको थियो । तर, संकेत नं. ‘ढ८२’ ०००००१ देखि ‘द३१’ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।