एयर इन्डिया दुर्घटना : २७४ जनाको मृत्यु, केन्द्र सरकार पहिलो प्रेस ब्रीफिङ गर्दै

539
Shares

काठमाडौं । अहमदाबादमा लण्डनतर्फ उडान भर्न लागेको एयर इन्डियाको फ्लाइट एआई १७१ दुर्घटनामा परेर कम्तीमा २७४ जनाको ज्यान गएको पुष्टि भएको छ।

यो भारतको हालसम्मकै एक भीषण विमान दुर्घटनामध्ये एक मानिएको छ।

सूत्रका अनुसार मृतकमध्ये विमानमा सवार यात्रुहरू, चालकदलका सदस्यहरू तथा विमानले ठोक्किएको स्थानमा रहेका स्थानीय बासिन्दाहरू रहेका छन्।

दुर्घटनापछि केन्द्र सरकारले उच्चस्तरीय बहु-विषयक समिति गठन गरेको छ, जसको अध्यक्षता संघीय गृह सचिवले गर्दैछन्। समितिले दुर्घटनाको कारणको छानबिन गर्नुका साथै भविष्यमा यस्ता दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सिफारिस गर्नेछ।

दुर्घटना कसरी भयो ?

दुर्घटना बिहीबार दिउँसो करिब १.३० बजे भएको हो। एआई १७१ फ्लाइट नामको यो जहाज बोइङ ड्रीमलाइनर ७८७(८ सिरिजको थियो । सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही सेकेन्डमै आकस्मिक रूपमा उचाइ गुमाउँदै बीजे मेडिकल कलेज नजिकको आवासीय क्षेत्रमा ठोक्किएको थियो।

दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो र कालो धुवाँ आकाशतर्फ फैलिएको देखिन्थ्यो।

एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूका अनुसार पाइलटले उडान भरेको केही समयमै मेडी आपतकालीन सन्देश पठाएका थिए, जसले पूर्ण आपतलको संकेत दिन्छ।

उक्त भीषण विमान दुर्घटनामा सबै २२९ जना यात्रु, दुईजना पाइलट र चालकदलका सदस्यहरूको मृत्यु भएको भए पनि एक मात्र व्यक्ति भने चमत्कारिक रूपमा ज्यान जोगाउन सफल भएका थिए।

ब्रिटिश(भारतीय नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका थिए । उनी विमानको ११ ए नम्बरको सिटमा बसेका थिए। उनी बोइङ ड्रीमलाइनर विमानमा लण्डन ग्याटविक एयरपोर्टतर्फको उडानका लागि सवार भएका थिए।

विमान दुर्घटनापछि उनी आंशिकरूपमा जलेको र रगतले भरिएको कपडासहित अचम्मित र होशविहीन अवस्थामै भेटिएका थिए।

सुरक्षाका दृष्टिले विमानका कुन सिटहरू बढी सुरक्षित हुन्छन् भन्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ। ११ ए जस्तो सीट आपतकालीन द्वारको नजिक हुन्छ । त्यहाँबाट छिटो बाहिर निस्कन सकिने सम्भावना अधिक हुने बताइन्छ। तर कुनै पनि विमानमा पूर्णरूपमा सुरक्षित सिट हुन्छ भन्ने निश्चित छैन।

छानबिन र आगामी कदम
कर्मचारी र उद्धार टोलीहरूले दुर्घटनास्थलबाट शवहरूको पहिचान तथा उद्दार कार्य जारी राखेका छन्।

संघीय गृह मन्त्रालयले दुर्घटनाबारे छिट्टै पत्रकार सम्मेलन गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, बोइङ कम्पनी र नागरिक उड्डयन विभागले पनि छुट्टाछुट्टै छानबिन टोली पठाएका छन्।

एयर इन्डियाको यो जहाज दुर्घटना देशको हवाई इतिहासको एक दर्दनाक अध्याय बनेको छ। एकमात्र बाँच्न सफल यात्रु विश्वास कुमारको जीवन रक्षा चमत्कारी भए पनि घटनाले समग्र हवाई सुरक्षाप्रति गम्भीर प्रश्नहरू उठाएको छ।

अब सबैको ध्यान केन्द्र सरकारद्वारा गठन गरिएको समिति र त्यसको प्रतिवेदनतर्फ रहेको छ । जसले भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन सिफारिसहरू ल्याउनेछ।