
काठमाडौं । अमेरिकाको चर्चित मिठाइ ब्रान्ड जोली राञ्चरको केही उत्पादनहरू स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको भन्दै बेलायतको फुड स्ट्यान्डर्ड एजेन्सी (एफएसए) ले गम्भीर चेतावनी जारी गरेको छ ।
ती उत्पादनहरूमा यस्तो रसायन पाइएको छ जसले डीएनएमा क्षति पु¥याउन सक्छ र दीर्घकालीन रूपमा क्यान्सरको जोखिम बढाउने सम्भावना छ ।
एफएसएसले जोली राञ्चर ब्राण्डको जोली राञ्चर हार्ड क्याण्डी, जोली राञ्चर मिस्फिट्स ग्युमिज, जोली राञ्चर हार्ड क्याण्डी फ्रुटी, जोली राञ्चर बेरी ग्युमिज निक्कै असुरक्षित रहेको औल्याएको छ ।
जोली राञ्चर ब्राण्डका चकलेटका केही उत्पादनमा देखिएको रसायनको प्रयोगले बेलायतमा खाद्य सुरक्षासम्बन्धी प्रश्न खडा गरेको छ । हालको अवस्थालाई ध्यानमा राख्दै एफएसए तथा उपभोक्ता संरक्षण निकायहरूले आवश्यक कदम चालिरहेका छन् । उपभोक्ताहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
एफएसएका अनुसार अमेरिकाको हर्शी कम्पनीद्वारा उत्पादन गरिएका जोली राञ्चर ब्राण्डका विभिन्न चकलेटहरूमा मिनरल आयल अरोमेटिक हाइड्रोकार्बन (एमओएएच) र मिनरल आयल स्याचुरेटेड हाइड्रोकार्बन (एमओएसएच) नामक रसायन भेटिएको छ । जुन बेलायती खाद्य सुरक्षा कानुनअनुसार प्रयोग गर्न मिल्दैन ।
अवैध रसायन र स्वास्थ्य जोखिम
एफएसएले जनाएको छ कि एमओएएच र एमओएसएचजस्ता रसायनहरू सामान्यतया क्यान्डीलाई चिप्लो हुनेबाट रोक्न र चम्किलो बनाइदिन प्रयोग गरिन्छ । तर एमओएएचलाई जेनोटोक्सिक क्यान्सरजन्यको रूपमा वर्गीकृत गरिएको छ । जसको अर्थ हो । अल्पमात्रामा भए पनि मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुन्छ ।
यस्तो छ एफएसएद्वारा जारी गरिएको विज्ञप्ति :
‘एमओएएचले डीएनएमा क्षति पु¥याउन सक्छ र लामो समयसम्म धेरै मात्रामा सेवन गरेमा क्यान्सरको खतरा बढाउन सक्छ ।’
यद्यपि एजेन्सीले तत्काल कुनै गम्भीर स्वास्थ्य त्रास नभएको भन्दै उपभोक्ताहरूलाई चिन्तित नहुन आग्रह गरेको छ । एफएसएले भनेको छ, ‘सामान्य रुपमा थोरै मात्रामा खाइने अवस्थामा स्वास्थ्य जोखिम कम हुन्छ ।’
यी उत्पादनहरू बेलायतमा सन् २०२४ देखि हटाउन प्रयास भए पनि केही व्यवसायहरूले अझै पनि तिनीहरूलाई बिक्री गरिरहेको एजेन्सीले जनाएको छ ।
एफएसएद्वारा निर्देशन र सुझाव
एफएसएले उपभोक्ताहरूलाई ती उत्पादनहरू सेवन नगर्न र घरमै सुरक्षित रूपमा फ्याक्न आग्रह गरेको छ । साथै, उपभोक्ताले यस्ता उत्पादन खरिद गरेको स्थानको ट्रेडिङ स्ट्यान्डर्डस वा पर्यावरण स्वास्थ्य विभागलाई जानकारी गराउन आग्रह गरिएको छ ।
एफएसएले खाद्य निरीक्षण निकायहरूलाई ती उत्पादनहरू प्राप्त गरेका व्यवसायहरूसँग तुरुन्त सम्पर्क गर्न र बजारबाट फिर्ता लिन आवश्यक कारबाही थाल्न निर्देशन दिएको छ ।
हर्शी कम्पनीको प्रतिक्रिया
हर्शी कम्पनीका प्रवक्ताले जोली राञ्चर उत्पादनहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता भएको बताएका छन् ।
उनले भने,’हामी हाम्रो उत्पादन सुरक्षित होस् भनेर प्रतिबद्ध छौं । यद्यपि अमेरिकाभित्र उत्पादन गरिएका वस्तुहरू सधैं अरू देशका कानुनी मापदण्डहरूमा खरो उत्रन्छन् भनेर भन्न सकिन्न ।’
साथै, कम्पनीले उपभोक्ताहरूलाई प्रामाणिक र स्थापित खुद्रा व्यवसायीहरूमार्फत मात्रै हर्शीका उत्पादन खरिद गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया