जीवन बिमकको बिमाशुल्क १५ प्रतिशतले बढ्दा निर्जीवनको ८ प्रतिशतले बढ्यो

182
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मका बिमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहित बिमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन गरेको छ ।

यस संस्करणमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म जारी बिमालेख संख्या, प्रदेशगत रूपमा बिमालेख संख्या, बिमाशुल्क संकलन, बिमा दाबी भुक्तानी विवरण, जीवन बिमाको पहुँच, बिमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बिमकका शाखा कार्यालय तथा कर्मचारी विवरण लगायत बिमा क्षेत्रका समग्र सूचकांकहरू विश्लेषण सहित प्रस्तुत गरिएको छ ।

प्रतिबिम्बमा उल्लेख भएअनुसार चालु आव २०८१/८२ को बैशाख मसान्तसम्ममा जीवन र लघुजीवन बिमा कम्पनीहरुबाट ५६ लाख ४७ हजार ९०९ वटा बिमालेख जारी भएका छन् भने निर्जीवन र लघु निर्जीवन बिमा कम्पनीहरुबाट जम्मा २६ लाख ६६ हजार ८८७ वटा बिमालेख जारी भएका छन् । साथै, यस आवको बैशाख मसान्तसम्ममा १ करोड ५३ लाख ६ हजार ९९३ वटा सक्रिय जीवन बिमालेख छन् ।

गत आवको बैशाख मसान्तको तुलनामा चालु आवको बैशाख मसान्तसम्ममा जीवन तथा लघुजीवन बिमा तर्फ १५.५५ प्रतिशतले बृद्धि भई १ खर्ब ४० अर्ब ३५ करोड बिमाशुल्क संकलन भएको छ भने निर्जीवन तथा लघु निर्जीवन बिमा तर्फ ८.४६ प्रतिशतले बृद्धि भई ३५ अर्ब ८६ करोड बिमाशुल्क संकलन भई कुल १ खर्ब ७६ अर्ब २२ करोड बिमाशुल्क संकलन भएको छ । कुल बिमाशुल्क संकलन गत आ।व। को बैशाख मसान्तको तुलनामा १४.०३ प्रतिशत बृद्धि हो ।

चालु आवको बैशाख मसान्तसम्म जीवन बिमकहरुले भुक्तानी गरेको दाबीको संख्या २ लाख १८ हजार ९५१ रहेको छ जस अन्तर्गत ४८ अर्ब ९५ करोड भुक्तानी भएको छ । गत आवको बैशाख मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्या र रकममा केही कमी आएको देखिन्छ । साथै, ५३ हजार ४८१ वटा दाबी अन्तर्गतको ४ अर्ब ४५ करोड भुक्तानी हुन बाँकी रहेको छ ।

त्यसैगरी, निर्जीवन बिमकहरुबाट चालु आवको बैशाख मसान्तसम्ममा कुल १ लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ जस अन्तर्गत १२ अर्ब ५८ करोड भुक्तानी भएको छ भने, ३० अर्ब ३३ करोड रुपैंयाको कुल १ लाख ५ हजार ६२० वटा दाबी संख्या भुक्तानी हुन बाँकी रहेको छ ।