
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने भएको छ । बिहीबार बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नयाँ स्टक ल्याउनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० माघमा शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति बनाएको थियो । उक्त समितिले २०८१ वैशाखमा सरकारलाई नेप्सेको पुनर्संरचना गरी नयाँ स्टकलाई लाइसेन्स दिन सुझाव दिएको थियो जसको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
बिहीबारको बोर्ड बैठकले सोही प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सेबोन स्रोतले जानकारी दिएको छ । ‘बोर्ड बैठकले शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ,’ सेबोन स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘यसका अलावा सेबोनले बनाएको समितिले निकालेको निष्कर्षका विषयमा पनि छलफल भएको छ ।’
गएको २०८१ पुस ५ मा नेपाल सरकार मन्त्रिपरिषद्ले चिन्तामणी शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन कार्यान्वयनको बाटो खोलिदिएको थियो । यसपछि, सोही प्रतिवेदन कार्यान्वयनको लागि आवश्यक सुझाव सहित पेश गर्न भन्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डकै सञ्चालक समितिको नेतृत्वमा अर्को समिति बनाएका थिए ।
शिवाकोटीको प्रतिवेदन कार्यन्वयन गर्नका लागि कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोदकुमार भट्टराईको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले १ महिना अघि नै बोर्ड अध्यक्षलाई कार्ययोजना सहितको प्रतिवेदन बुझाएको थियो । बोर्ड गठन गरेको प्रतिवेदन कार्यान्वयन सुझाव सिफारिस समितिले बुझाएको कार्ययोजनाका विषयमा बिहीबारको बोर्ड बैठकले छलफल गरेको हो ।
प्रतिक्रिया