सिण्डिकेटधारी यातायात व्यवसायीसामु सरकार झुक्नु आपत्तिजनक : सांसद प्रकाश ज्वाला

504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिण्डिकेटधारी यातायात व्यवसायी सामु झुकेर सरकारले सोमबार राति गरेको सहमतिप्रति आपत्ति जनाएका छन् ।

पूर्व मन्त्री ज्वालाले यातायात व्यवसायी सामु सरकारले झुकेर सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाए । मंगलबार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले यस्तो बनाएका हुन् ।

‘पहिले तोडिएको सिन्डिकेट सरकारले फेरि कायम हुने गरी सम्झौता गरेको । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यो रोजेर प्रयोग गर्न पाउनु पर्छ । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ,’ समितिको बैठकमा उनले भने ।

गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधिसँग सरकारले झुक्दै सोमबार राति उक्त नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए । तर, सरकारले के आधारमा सम्झौता गर्यो भनेर प्रश्न गरे ।

राइड सेयरिङको पक्ष लिंदै उनले भने, ‘यो सम्झौता राम्रो भएन । के आधारमा गरियो ?’

उनले भने, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा । विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तीजनक छ । यस ढंगले जनताले सेवा पाउँदैनन् ।’

‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’

यस्तै सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् ।

यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे ।

‘बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,’ उनले भने,’अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’

अर्का सांसद माधव सापकोटाले सार्वजनिक यातायात व्यवसायीसँग रातको समयमा भएको छलफल र सहमतिबारे प्रश्न उठाएका छन् ।

‘यातायात व्यवसायीसँग रातको समयमा के छलफल भयो खास सम्झौता भएको के हो ?,’ उनले भौतिक मन्त्रीलाई प्रश्न गरे,’तत्कालको समस्या समाधानका लागि सहमति भएको हो कि दीर्घकालीन सोचेर सहमति भयो ?’

रातको समयमा छलफल टुङ्गिएको भन्दै फेरि सहमति भएकोबारे प्रश्न गरेका छन् ।

‘एउटा व्यवसायीले छलफल सकियो भने,’ ,उनले भने, ‘त्यहिबेला अर्को व्यवसायीलाई सोध्दा छलफल चलिरहेको भने । यो कस्तो खालको छलफल हो ? मन्त्री ज्यु यसको जवाफ चाहियो ।’