टेलिकमको वालेटमा साढे १६ करोड डुब्यो, नमस्ते पेमा भएको सरकारी लगानी ‘बालुवामा पानी’


काठमाडौं । डिजिटल भुक्तानीको निम्ति बलियो प्रतिस्पर्धी बन्ने उद्देश्यले खडा भएको टेलिकमको भगिनी संस्था नेपाल डिजिटल पेमेन्टबाट सञ्चालित नमस्ते पे साढे १६ करोड रुपैयाँ घाटामा गएको छ ।

डिजिटल भुक्तानीका लागि बजारमा पर्याप्त विकल्प भइरहेका बेला भित्रिएको नमस्ते पेले अपेक्षित प्रतिफल जुटाउन नसक्दा सरकारी कम्पनीको लगानी बालुवामा पानी सरह भएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमको भगिनी संस्था नमस्ते पेलाई राष्ट्रिय वाणिज्य बैंकलाई समेत व्यवसायिक साझेदार बनाए सुरुवात भएको यो कम्पनी ५ वर्ष पुग्दासमेत निरन्तर घाटामै छ ।

यो कम्पनीमा हालसम्म ४० करोड रुपैयाँ लगानी भइसकेको छ । यसमध्ये ६० प्रतिशत नेपाल टेलिकमको र बाँकी ४० प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंकले गरेको छ ।

२०७७ मा स्थापना हुनु अगाडि नै एक अर्ब रुपैयाँको कम्पनी बनाउने भन्दै नमस्ते पेमा नेपाल टेलिकमसहित राष्ट्रिय वाणिज्य बैंकले समेत लगानी गरेको लगानी खेर गएको छ ।

बजारमै भएकै सेवाप्रदायक जस्तै बत्ति, पानी, इन्टरनेटको बिल तिर्न, मोबाइल टपअप (रिचार्ज गर्न) सहितका डिजिटल भुक्तानी गर्ने भन्दै सुरुवात भएको यो कम्पनीले अरुभन्दा फरक काम गर्न नसकेका कारण चालू आर्थिक वर्ष २०८१÷८२ को पुससम्मको तथ्यांक अनुसार यो कम्पनी संचित नोक्सानी १६ करोड ५५ लाख रुपैयाँ घाटामा छ ।

गत आर्थिक वर्ष २०८०/८१ सम्ममा यसको नोक्सानी १३ करोड रुपैयाँ नाघेको तथ्यांक सार्वजनिक भएको छ भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ९८ लाख रुपैयाँ घाटा थपिएको यो कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्टले देखाएको छ ।

नमस्ते पे नामक वालेट सञ्चालन गरिरहेको नेपाल डिजिटल पेमेन्ट नामक कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८२ लाख रुपैयाँ आम्दानी गर्दा ४ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्चबाट यो कम्पनीको घाटा नै २ करोड ९८ लाख भएको तथ्यांकले देखाएको छ ।

स्थापना कालदेखि नै नाफा गर्न नसकेको यो कम्पनी निरन्तर नोक्सानीमा रहेकोले संचित घाटा बढ्दै गएको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले समेत औल्याएको छ । तथ्यांक अनुसार टेलिकमको सहायक कम्पनी नमस्ते पे स्थापना कालदेखि नै निरन्तर नोक्सानीमा रहेको छ । उक्त नोक्सानी कम गर्ने र लाभ गर्ने गरी नमस्ते पेले काम गर्न नसक्दा घाटामा सञ्चालन भइरहेको छ ।

यसले सेवा बिक्रीबाट गत वर्ष २०८०/८१ सम्ममा ३ करोड ९९ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ भने सेवा सञ्चालन गरेको खर्च ३ करोड ५७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

यो कम्पनीले कर्मचारी खर्च, सेवा सञ्चालन खर्च र व्यवसाय प्रवद्र्धन खर्चमा गरेर कुल ३ करोड ५९ लाख ५८ हजार गरेको कारण नोक्सानीमा गएको तथ्यांकले देखाएको छ । यसको प्रशासनिक खर्च नियन्त्रण गरी मूल्य निर्धारण र बजार प्रतिस्पर्धामा सुधार गर्नुपर्ने आवश्यकता महालेखाले औल्याएको छ ।

कम्पनी ऐन, २०६३ को दफा ८६ मा सार्वजनिक कम्पनीको सञ्चालक समिति गठन गर्दा सञ्चालकको संख्या ७ भन्दा कम छ भने कम्तीमा एक स्वतन्त्र सञ्चालक र सञ्चालकको संख्या ७ भन्दा बढी छ भने कम्तीमा दुई स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने र संस्थाको प्रबन्धपत्रको बुँदा नम्बर २७ मा सञ्चालक समितिमा ३ सदस्य नेपाल टेलिकमबाट, २ सदस्य राष्ट्रिय वाणिज्य बैंकबाट, १ सदस्य सार्वजनिक सेयरधनीबाट र १ सदस्य स्वतन्त्र सहित ७ सदस्य सञ्चालकको रूपमा नियुक्त गरिने उल्लेख छ । यो कम्पनीले अहिलेसम्म स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसकेको महालेखाले औल्याएको छ ।

नमस्ते पेले वार्षिक ४२ हजार कमाउन प्रति कर्मचारीलाई मासिक ८० हजार रुपैयाँ खर्च गरेको भेटिएको छ । जम्मा २८ जना कर्मचारी राखेर २०७८ भदौ २९ देखि यो कम्पनीले सेवा सुरु गरेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा सञ्चालित वालेटहरूको चैतसम्मको ग्राहक संख्या २ करोड ६३ लाख ग्राहक छन् । राष्ट्र बैंकबाट अनुमति पाएका २५ वटा वालेटहरूले गरेको वार्षिक कारोबार भने ४३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

नेपाल टेलिकमले भने अन्य वालेटले भन्दा फरक काम गर्न नसकेको र आफूलाई बजारमा अब्बल र प्रतिस्पर्धी बनाउन नसकेको र सरकारी कम्पनीका कर्मचारीले तलब खाँदै बस्ने बाहेकको उपलब्धि नभएकै कारण यो कम्पनीमा भएको सरकारी लगानी बालुवामा पानी सरह हुन पुगेको हो ।

नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. सञ्जिवकुमार देवका अनुसार पाँच वर्षे रणनीति बनाएर सुरुवात गरेको यो कम्पनीले त्यस अघि सञ्चालन गर्न धान्ने अवस्था छैन । पाँच वर्ष पछि नमस्ते पे सञ्चालन खर्च धान्ने अवस्थामा पुग्ने छ ।

बजारमा अरुभन्दा फरक भएर काम गर्न नसकेको स्वीकार गर्दै उनले भने ‘वालेटमा अरुभन्दा पछि आएको कम्पनी भएकोले वृद्धि पनि विस्तारै हुँदै गएको छ ।’ नमस्ते पेको वालेट हालसम्म ४ लाख पटक डाउनलोड भइसकेको भएपनि केवाईसी भेरिफाइ भएका र सक्रिय प्रयोगकर्ता भने १ लाख मात्रै छन् ।

नमस्ते पेले सरकारी कम्पनी भएको र यसले सुरक्षित तरिकाले काम गर्नुपर्ने र प्रक्रिया पूरा गरेर काम गर्न समय लागेको पनि उनले बताए । नयाँ सेवा सुविधा ल्याउँदा त्यसलाई आत्मसाथ गरेर जानुपर्ने भएकोले समय लागेको हो । तर नमस्ते पेले सुरुवातमा जसरी व्यापारिक योजना बनाएर सुरुवात गरेको थियो त्यहीँ अनुसार नै गइरहेकोले र आगामी वर्षबाट सञ्चालन खर्च धान्ने अवस्थामा पुग्ने बुझाइ पनि नमस्ते पेका सीईओ देवको भनाइ छ ।