सत्तामा रहनको लागि राज्य दोहन गर्नेहरुका कारण देश बिग्रियो: भुसाल

14
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको नेता भुसालको भनाइ छ । उनले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख कारण भएको टिप्पणी गरे ।

भुसालले दलाल पुँजीवाद, भ्रष्टाचार र बेरोजगारीको श्रृंखलालाई गणतन्त्रको मूल संकटको रुपमा चित्रण गर्दै नेतृत्व परिवर्तनले मात्र संकटबाट बाहिर निस्कन सकिने बताए । उनले आफूलाई गणतन्त्रको कार्यकारी नेता भन्नेहरुले पद छाड्न जरुरी रहेको बताए ।

‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो । कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरुको धेरै ठुला प्रयत्नले यो देश बिग्रिएको हो,’ उनले भने, ‘ नाफा कमाइरहने, उद्यम नखोल्ने पूँजीपति र नकमाएको सम्पतीमा बाँच्ने लिडरसिपको यो गठबन्धन जसलाई मैले दलाल पूँजीवाद भनेको छु । नेपालको विकासका सम्बन्धमा सबै पापहरुको बाउ त्यही नै हो जसले हाम्रो सुशासन र विकासलाई रोकेको छ । अब यसको समाधान भनेको म गणतन्त्रको कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् ।’