
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।
माओवादी सांसद मोदीले बैठकमा बोल्नका लागि समय माग्दा सभापतिले रोकेको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको हो। उनले प्रतिपक्षी दलका सांसदहरूले संसदीय समितिमा सार्वजनिक सरोकारका विषय उठाउन खोज्दा सभापतिले रोक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । साथै, सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनु पर्ने माग राख्दा पनि आफूहरूलाई दबाउन खोजिएको आरोप उनले लगाए।
‘संसद भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेण्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ । हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनु हुन्न । सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरु हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरुको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो,’ उनले भने ।
सभापति पोखरेलले भने सांसद मोदीमाथि युट्युबर ल्याएर धारणा राख्ने, भ्युजको लागि समितिमा स्टन्ट गर्ने र खिच्न छुट्टै व्यक्ति ल्याउने आरोप लगाए । उनले मोदीले पटक–पटक समितिको बैठकलाई अमर्यादित बनाउने कार्य गरेको समेत जिकिर गरे।
सांसद मोदीले आफूलाई समिति सभापतिले नभई आफ्नो पार्टीले पठाएको स्पष्ट पारे । उनले पोखरेलले निरन्तर बैठकमा प्रतिपक्षीको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाए।
यसैबीच, सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठन गरिएका विभिन्न उपसमितिहरूको कार्यम्याद एक महिना थप गर्ने निर्णय गरेको छ। समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरी छानबिनका लागि यसअघि नै उपसमिति गठन गरिएको थियो।








प्रतिक्रिया