मेगा श्री गुट्खा उत्पादन गर्ने डीजीआईको व्यापार बढ्यो, एकै वर्ष सवा १ अर्बको कारोबार

882
Shares

काठमाडौं । देउती गुट्खा इन्डस्ट्रिज (डीजीआई)ले एकै वर्ष सवा १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब २५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब १६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९७ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले सवा १ अर्बको व्यापार गर्दा ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२३ मा २ करोड ३० लाख रुपौयँ खुद नाफा कमाएको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले विशेषगरी गुट्खा र टोबाको उत्पादन गर्दै आएको छ । जसको ८ हजार मेट्रिक टन गुट्खा, पान मसला उत्पादन गर्ने क्षमता छ भने ५ सय मेट्रिक टन मिठा पान सुपारी उत्पादन गर्ने क्षमता रहेको छ ।

कम्पनीले प्रिमियम गुणस्तरको सुपरी, सुर्ती र अन्य स्वादको गुट्खा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादित गुट्खा मेगा श्री र मन्जु श्री ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सानो पारिवारिक स्रोतको रुपमा सुदूरपश्चिम क्षेत्रमा सुरु भएको कम्पनीको व्यापार अहिले देशव्यापी बजार बनाइसकेको छ ।
बाँके जिल्लाको जानकी गाउँपालिका ६ गनपुरमा फ्याक्ट्री रहेको कम्पनीले अल्पकाीन तथा दीर्घकालीन कर्जाका लागि ६८ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३१ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड १७ लाखको रेटिङ गराएको छ ।

सुक्खा बन्दरगाह नजिकै रहेको कम्पनीले भारत हुँदै विभिन्न देशबाट कच्चा पदार्थ ल्याउने गरेको छ । कम्पनीले ७८ प्रतिशत सुपारी, ८ प्रतिशत सुर्ती, ६ प्रतिशत म्याग्नेसियम कार्बोनेट पाउडर, ३ प्रतिशत कठा र ५ प्रतिशत अन्य भिस्क ग्लिसिरिन आयात गर्ने गरेको छ । कम्पनीको देशभर २ सय वटा आधिकारिक डिलर छन् ।

विभिन्न स्वादहरुमा सुपारी र सुर्तीजन्य सामग्री उत्पादन गर्ने कम्पनी यज्ञबहादुर ओलीको स्वामित्व छ ।