हार्भेस्ट मुन ट्राभल एण्ड टुर्सले साढे ८ महिनामा गर्‍यो २ अर्ब ६८ करोडको कारोबार

147
Shares

काठमाडौं । हार्भेस्ट मुन ट्राभल एण्ड टुर्सले साढे ८ महिनामा २ अर्ब ६८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा साढे २ अर्ब बढीको व्यापार गरेको हो ।

सन् २०२४ मा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२४ मा सन् २०२३ को तुलनामा ३७ प्रतिशतले कारोबार घटेको छ । सरकारले कामदार लैजान रोक गर्नु कारोबार घट्नुको मुख्य कारण रहेको कम्पनीले जनाएको छ।

कोरोनाका कारण सन् २०२० मा १ अर्ब १९ करोड २० लाख रुपैयाँले व्यापार घटेकोमा सन् २०२१ मा ९१ करोड ६० लाख रुपैयाँले घटेको थियो । तर, सन् २०२२ मा भने कारोबारमा केही सुधार आई कम्पनीले ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँको कारोबार भएको जनाएको छ ।

कम्पनीले सन् २०२४ मा ०.८२ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले अन्तर्राष्ट्रिय हवाई टिकटको सेवा दिँदै आएको छ । कम्पनीले विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई टिकटको सुविधा दिँदै आएको छ ।

रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठको ५०/५० स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ ।