
काठमाडौं । सम्राट सिमेन्ट कम्पनीको व्यापार ४८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४८ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।
कम्पनीले सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको अवस्था हेर्दा हरेक वर्ष कारोबारमा कमी आएको देखिन्छ । कम्पनीले सन् २०२४ मा बजार मागमा कमी आउँदा र मूल्यमा उच्च चाप पर्दा व्यापारमा कमी आएको जनाएको छ ।
कम्पनीले सन् २०२३ मा ३ लाख ४२ हजार १७७ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । तर, सन् २०२४ मा आर्थिक गतिविधि कम हुँदा २ लाख १९ हजार ७ सय ६० मेट्रिक टन बिक्री गरेको छ । साथै, सन् २०२३ मा ७१ हजार ५ सय ६८ मेट्रिक टन चुन ढुंगा बिक्री गरेकोमा सन् २०२४ मा ९ हजार २ सय ५० मेट्रिक टन मात्रै चुन ढुंगा बिक्री गरेको छ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले ३६ सय मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै कम्पनीले ४ हजार मेट्रिक टन क्षमताको चुन ढुंगा उद्योग सञ्चालन गर्दै आएको छ । दाङमा उद्योग रहेको कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट विभिन्न ७ वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले उत्पादित सिमेन्ट गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियममा बिक्री वितरण गर्दै आएको छ ।
सीजी ग्रुपको लगानी रहेको कम्पनीको निर्देशकमा भने सिजी ग्रुपका निर्वाण चौधरी र बरुण चौधरी रहेका छन् । त्यस्तै, अध्यक्षमा अनिल कुमार रुंगटा रहेका छन् । कम्पनीमा ७६ प्रतिशत स्वामित्व चौधरी ग्रुपको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि साढे १२ को रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया