राजावादी आन्दोलन चर्काउने लिङ्देनको चेतावनी: ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न दिन्छौं’ (भिडियो)

714
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि जेठ १५ देखि सुरु हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीलाई ‘भाग्न बाध्य पार्ने’ गरी आन्दोलन चर्काउने चेतावनीसमेत दिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा राजावादी भाग्न सक्ने तर आफूहरु बुढो भएकोले भाग्न नसक्ने बताएसँगै उनले त्यसको जवाफ दिएका हुन् । ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने हामीले हेलिकोप्टरबाट जान दिनेछौं,” लिङ्देनले भने । उनले आन्दोलनलाई पूर्ण रूपले शान्तिपूर्ण र अहिंसात्मक बनाइने स्पष्ट पारे ।

लिङ्देनले यो आन्दोलनलाई टुंगोमा पुर्‍याउने लक्ष्यसहित सिंगो परिवारसहित सहभागी हुन कार्यकर्तालाई आह्वान गरे । उनले सके छरछिमेक र आफन्तहरूलाई पनि आन्दोलनमा सहभागी गराउन र नसके घरमा ताला लगाएर आउने आग्रहसमेत गरे ।

उनले आन्दोलन निरन्तर चलिरहने र हिंसाबाट जोगिने प्रतिबद्धता जनाए । यसअघि चैत १५ मा भएको राजावादी प्रदर्शनमा हिंसा भए पनि यसपटकको आन्दोलन आयोजकको पूर्ण नियन्त्रणमा हुने दाबी गरे । साथै, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुगमन गर्न आग्रह गर्ने बताएका छन् ।

लिङ्देनले भारतको स्वतन्त्रता आन्दोलनको उदाहरण दिँदै भद्र अवज्ञा र सत्याग्रहबाटै परिवर्तन सम्भव हुने उल्लेख गरे । ‘भारतमा १९० वर्ष लामो ब्रिटिश शासन पनि शान्तिपूर्ण आन्दोलनबाटै अन्त्य भयो, हामी पनि दुई दशकको गणतन्त्र त्यही बाटोबाट अन्त्य गर्नेछौं,’ उनले भने ।