बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले दायर गरेको रिटमा चैत २० गते सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।त्यसपछि ६ पट पेसी चढे पनि एकपटक हेर्न नमिल्ने र ५ पटक हेर्न नभ्याइनेमा पर्दै आएको रिटमाथि आइतबार सुनुवाइ भएको हो ।

राउत र पाण्डेको इजलासले ओझालाई अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय र सिफारिस समितिको निर्णय झिकाउन आदेश दिए पनि अन्तरिम दिन भने अस्वीकार गरेको हो ।

प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता अपुग रहँदा रहँदै ओझालाई सरकारले अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग रिटमा गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई बिपक्षी बनाउँदै अधिवक्ता इन्दिरा धमलाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

नियुक्तिको एक महिनापछि रिट दायर भएको थियो ।

फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले विभिन्न चरणमा योज्ञता परीक्षण, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि ओझासहितको नाम सरकारलाई सिफारिस गरेको थियो ।

त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए ।

प्राधिकरणमा हालसम्म नियुक्त भएका अध्यक्ष मध्ये ओझा सबैभन्दा कम उमेरका हुन् । ३३ वर्षका उनी प्राधिकरणमा मात्रै नभइ हालसम्म नियामक निकायमा नियुक्ति भएका कार्यकारी प्रमुखमध्येकै कम उमेरका हुन् ।

ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमासमेत गरी १२ वर्षको कार्य अनुभव छ । ओझा विभिन्न क्याम्पसका अध्यापक हुन् भने नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् ।

उनीसँग नीतिगत तथा कानुनी परामर्शदाताका रुपमा कार्य गरेको समेत अनुभव छ । पर्यटन नीति २०८१ निर्माणमा संलग्न ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् भने त्यसअघि पोखरा विश्वविद्यालय व्यवस्थापनमा स्नातक गरेका थिए ।

आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा कार्य गरेका ओझा क्लिकमान्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताका रुपमा कार्यरत थिए । त्यसअघि उनले हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन तथा प्रशासनिक मासिक काम गरेका थिए ।

ओझाले एपेक्स, राजधानी, इम्पेरियल, सायम कलेजमा व्यावसायिक वातावरण, अन्तर्राष्ट्रिय बिजनेस तथा नवप्रबर्तन विषयमा अध्यापन गर्छन् । उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पर्यटन नीति तथा योजना विषय अध्यापन गराउँछन् ।

उनीसँग वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन तथा अर्थतन्त्र विश्लेषणमा दख्खल रहेको छ ।