सावमी ब्राण्डको मोबाइल बेच्ने कम्पनीको व्यापार २३ प्रतिशतले बढ्यो


काठमाडौं । नेपालका लागि सावमी ब्राण्ड मोबाइलको आधिकारिक बिक्रेता वत्सल इम्पेक्स प्रालिको व्यापार २३ प्रतिशतले बढेको छ । सन् २०२३ मा ३४ प्रतिशतले घटेको व्यापार सन् २०२४ मा २३ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२३ मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा ४ अर्ब १० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै कम्पनीले सन् २०२० मा २ अर्ब १३ करोड रुपैयाँ, सन् २०२१ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२४ मा व्यापार रिबाउन्ड भएको जनाएको छ । कम्पनीले सावमी ब्राण्डको मोबाइलसहित इच्भिच वस्तु, टीकवाच, र फीटबीट ब्राण्डको वस्तुको पनि आधिकारिक विक्रेता हो । कम्पनीको देशभर १४ वटा डिलर र ५ सयभन्दा बढी खुद्रा पसल छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

शारडा ग्रुपद्वारा सञ्चालित वत्सल कम्पनी नेपालको दोस्रो ठूलो मोबाइल आयातकर्ता हो । कम्पनीले नेपाली बजारमा इच्भिच ब्राण्डको सीसी क्यामेरा र अन्य एसोसरिज, पोको फोन, फिटबिट र टिकवाच स्मार्ट वाच आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

सन् २०१२ देखि भिडियोकन र पर्पल ब्राण्डको मोबाइल फोन आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०१६ देखि सावमीसँग सम्झौता गरी नेपालमा मोबाइल आयात गर्दै आएको छ ।

कम्पनीको अध्यक्ष विनितकुमार शारडा हुन् भने नितेशकुमार मुङ्गडा प्रबन्ध निर्देशक हुन् । शारडा ग्रुप विगत लामो सयमदेखि उत्पादन, ट्रेडिङ, बैंकिङ र हाउजिङ क्षेत्रमा संलग्न छ ।