
गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ ।
विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् ।
सुरौदीको तिखे ढुुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा ई विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ ।
रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रूपैयाँ आम्दानी गरिसकिएको ई बरालले जानकारी दिए ।
विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनेको उनले बताए ।
‘हामीले लगाएको तरबुजा लटरम्म फलेको छ’, उनले भने, ‘हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।’
पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुुङ्गामा अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाएका छन ।
उनीहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताए ।उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका छन् ।
पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरिसकेका छन् । उनको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजा बजारमा माग अत्याधिक रहेको उनले जानकारी दिए ।
पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाएको तरबुजा राम्रो फलेको छ । उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुजा फलाउन सकिने देखिएको कार्कीले जानकारी दिए ।
विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०-१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यो वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
तरबुजा खेतीका लागि महानगरपालिकाले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको उनले जानकारी दिए ।
महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी दिँदै उनले स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको बताए । पोखरामा यो वर्ष करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर) को तरबुजा उत्पादन भएको उनले जानकारी दिए ।
महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिए ।
पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा
मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको छ । प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो ।
मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उहाँहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो भएका छन् । उनीहरूलाई पुरस्कारस्वरूप नौ किलोग्राम र छ किलोग्राम तरबुजा पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।
त्यस्तै प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्म पोखरा १३ आर्वाका श्रीधरलाल बराल र रोशन बराल प्रथम बन्नुुभयो भने पिपलडाली पशु तथा कृषक समूह पोखरा २८ का शोवितबहादुर अधिकारी दोस्रो भएका थिए ।
त्यस्तै सूर्यचन्द्र कृषक समूह पोखरा १३ दुुइकुलाको मुहानका विश्वराज सापकोटा तेस्रो र चण्डेश्वरी कृषि सहकारी संस्था लिमिटेड पोखरा १३ साझाका रामकाजी बरालले सान्त्वना स्थान प्राप्त गरेका थिए ।







प्रतिक्रिया