बिमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा

0
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमाको विश्वसनियता बढाउने गरी काम गर्न बिमा कम्पनीहरुसँग आग्रह गरेका छन् ।

बुधवार काठमाडौंमा नेपाल बिमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताए ।

सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बिमाको विश्वसनियता बढाउनु रहेको ओझाको भनाइ छ ।

बिमा दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने ओझाको भनाइ छ । बिमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बिमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने उनले बताए ।

‘हामी बिमाको विश्वसनियता बढाउने गरी काम गर्न तयार छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो,’ उनले भने, ‘ दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरु आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ । शुन्यमा पुर्‍याउनुपर्नेछ । बिमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बिमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ ।’

अध्यक्ष ओझाले एक वर्षको बिमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा हुनुपर्ने बताए ।