रवीन्द्र मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै ४५ दिनपछि श्रीमतीले दिइन् बन्दीप्रत्यक्षीकरण रिट

420
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरी हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

सरकारले मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखेको आरोप लगाउँदै उनकी श्रीमती सारिका कार्कीले उक्त रिट निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालत प्रशासनले मंगलबार दर्ता भएको उक्त निवेदनलाई बुधबारको पेसीमा राखेको छ ।

रिटमा गृहमन्त्रालय, नेपाल प्रहरीको प्रधान कार्यालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ताको कार्यालय, तथा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी पक्ष बनाइएको छ।

बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रमाथि एकपछि अर्को आरोप लगाउँदै गैरकानुनी रूपमा थुनामा राखिएको, अनुसन्धानमा ठोस प्रगति नहुँदा समेत बारम्बार थुनाको म्याद थपिएको दाबी गरिएको छ।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलाई सोही दिन पक्राउ गरिएको थियो ।